२०८३ असार २६ गते, शुक्रबार १४:४७

गहवामाई रथ यात्रा व्यवस्थापनका लागि वीरगन्ज महानगरको सक्रियता, सुरक्षा र पूर्वाधार चुस्त पारिँदै

वीरगन्ज

वीरगन्जबासीको आस्थाको केन्द्र एवं ऐतिहासिक धार्मिक धरोहर श्री गहवामाई मन्दिरको ‘माई विशाल रथ यात्रा’ लाई भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्न स्थानीय प्रशासन, सरोकारवाला निकाय र सुरक्षा अंगहरूले तयारी तीव्र पारेका छन्। आगामी असार ३२ गते आयोजना हुने यस ऐतिहासिक रथ यात्राको व्यवस्थापन चुस्त बनाउने उद्देश्यले वीरगन्ज महानगरपालिकाका कार्यवाहक प्रमुख इम्तियाज आलमको अध्यक्षतामा एक उच्चस्तरीय बैठक सम्पन्न भएको छ।

महानगरपालिका, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय र स्थानीय सरोकारवालाहरूको उपस्थितिमा बसेको बैठकले रथ यात्राको रुट, जनसहभागिताको चाप तथा धार्मिक संवेदनशीलतालाई मध्यनजर गर्दै विभिन्न ६ वटा महत्त्वपूर्ण क्षेत्रको पहिचान गरी निकायगत जिम्मेवारी बाँडफाँड गर्ने निर्णय गरेको छ।

कार्ययोजना अनुसार लाखौँको संख्यामा ओर्लिने श्रद्धालुहरूको सुरक्षाका लागि जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र नगर प्रहरीलाई संयुक्त रूपमा परिचालन गरिनेछ। सुरक्षा निकायले विशेष सुरक्षा घेरा र ट्राफिक व्यवस्थापन चुस्त राख्नेछन् भने रथ यात्रा व्यवस्थापन समिति मुख्य आयोजकको रूपमा रहनेछ। त्यस्तै, यात्रा मार्गलाई स्वच्छ राख्न वीरगन्ज महानगरपालिकाले आफ्नो स्रोत-साधन पूर्ण रूपमा परिचालन गर्नेछ, जसमा निजी क्षेत्र र स्थानीय सामाजिक संघसंस्थाहरूले पनि सहकार्य गर्नेछन्।

असारको गर्मीलाई मध्यनजर गर्दै भक्तजनहरूका लागि खानेपानी संस्थान र निजी क्षेत्रको समन्वयमा विभिन्न स्थानमा शुद्ध खानेपानीको प्रबन्ध मिलाइने भएको छ। रथ यात्राको समयमा हुनसक्ने विद्युत अवरोध रोक्न नेपाल विद्युत प्राधिकरणलाई वितरण प्रणालीको विशेष मर्मतसम्भार र निगरानीको जिम्मेवारी तोकिएको छ। भीडभाडका कारण सञ्चार सम्पर्क विच्छेद हुन नदिन नेपाल टेलिकम लगायतका सेवा प्रदायकहरूलाई मोबाइल नेटवर्क सुदृढ बनाउन निर्देशन दिइएको छ भने धार्मिक मर्यादा र आन्तरिक स्वच्छताको प्रत्यक्ष रेखदेख आयोजक समिति आफैंले गर्नेछ।

महानगरका कार्यवाहक नगर प्रमुख इम्तियाज आलमले गहवामाई रथ यात्रा वीरगन्जको मात्र नभई सिंगो मधेश प्रदेशकै गौरव र साझा सांस्कृतिक उत्सव भएकाले यसलाई ऐतिहासिक रूपमा सफल पार्न महानगरपालिकाले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले तोकिएको जिम्मेवारी समयमै निर्वाह गरिदिन सम्बन्धित सम्पूर्ण सरकारी एवं गैरसरकारी निकायहरूलाई निर्देशनसमेत दिनुभएको छ। आयोजक समितिले पनि यस धार्मिक महोत्सवलाई मर्यादित बनाउन सिंगो वीरगन्जबासी, उद्योगी, व्यवसायी र सञ्चारकर्मीहरूमा हार्दिक अपिल गरेको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस