२०८३ असार २७ गते, शनिबार २१:५१

पार्टीको क्रियाशील सदस्यमा युवाको संख्या घट्नु चिन्ताको विषय : महामन्त्री पौडेल

वीरगञ्ज –

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको नेतृत्व तहमा युवाको सहभागिता बढाउने तयारी भइरहेको बताउनुभएको छ। उहाँले पार्टीको केन्द्रीय समितिमा २० देखि ४० वर्ष उमेर समूहका तीन जना युवाको प्रतिनिधित्व विधानमार्फत सुनिश्चित गरिएको जानकारी दिँदै अब पार्टीका २० प्रतिशत बुथमा युवालाई नेतृत्व दिने तयारी भइरहेको बताउनुभयो।

नेपाली कांग्रेस पर्साले शनिबार वीरगञ्जमा आयोजना गरेको क्रियाशील सदस्यता सचेतना कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री पौडेलले पार्टीका क्रियाशील सदस्यमा युवाको संख्या अत्यन्त कम हुनु चिन्ताको विषय भएको बताउनुभयो। उहाँले क्रियाशील सदस्यमा महिला र मुस्लिम समुदायको सहभागिता पनि अपेक्षाकृत कम रहेको उल्लेख गर्दै त्यसलाई बढाउन विशेष पहल आवश्यक रहेको धारणा राख्नुभयो।

देशकै सबैभन्दा पुरानो तथा जीवन्त लोकतान्त्रिक पार्टीभित्र युवा, महिला र मुस्लिम समुदायको सहभागिता घट्दै जानु चिन्ताको विषय भएको उल्लेख गर्दै उहाँले क्रियाशील सदस्यतामा उनीहरूको संख्या वृद्धि गर्न सबै तहबाट प्रभावकारी प्रयास हुनुपर्नेमा जोड दिनुभयो।

महामन्त्री पौडेलले पार्टीको केन्द्रदेखि जिल्ला, स्थानीय तह तथा भ्रातृ एवं शुभेच्छुक संस्थासम्म महिलाको प्रतिनिधित्व कम्तीमा २० प्रतिशत पुर्‍याउने लक्ष्य लिइएको जानकारी दिँदै त्यसका लागि क्रियाशील सदस्यतामै महिलाको सहभागिता बढाउन आवश्यक रहेको स्पष्ट पार्नुभयो।

नेपाली कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजाल, अजय कुमार चौरसिया, पूर्व केन्द्रीय सदस्य सुरेन्द्र चौधरीलगायतले क्रियाशील सदस्यता विस्तारका लागि जिल्ला, पालिका र वडास्तरसम्म सक्रिय अभियान सञ्चालन गर्न कार्यकर्तालाई आग्रह गर्नुभएको थियो।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस