२०८३ असार २८ गते, आईतवार १०:४८

होर्मुज जलमार्ग बन्द : विश्व व्यापार संकटमा, नेपालमा पनि इन्धनदेखि महँगीसम्म असर पर्ने संकेत

काठमाडौं

विश्वको सबैभन्दा महत्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक मानिने होर्मुज जलमार्ग इरानले अनिश्चितकालका लागि बन्द गरेको घोषणा गरेपछि मध्यपूर्वमा युद्धको जोखिम थप बढेको छ। इरान–अमेरिका तनाव चर्किँदै जाँदा यसको प्रत्यक्ष असर विश्व अर्थतन्त्रमा मात्र होइन, पेट्रोलियम आयातमा पूर्ण रूपमा निर्भर नेपालजस्ता मुलुकमा पनि पर्ने चिन्ता बढेको छ।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले अर्को सूचना नआएसम्म जलमार्ग बन्द रहने जनाएको छ। अमेरिकाले भने साइप्रसको झण्डा बोकेको व्यापारिक जहाजमाथि इरानले मिसाइल आक्रमण गरेपछि आफ्नो सेनाले नयाँ चरणको हवाई कारबाही गरेको जनाएको छ। अमेरिकाको केन्द्रीय कमाण्ड (सेन्टकम) का अनुसार उक्त आक्रमणबाट जहाजको इन्जिन कक्षमा गम्भीर क्षति पुगेको छ भने एक चालकदल सदस्य बेपत्ता छन्।

अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले इरानले “गलत निर्णय गरेको” भन्दै त्यसको मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन्। त्यसको जवाफमा आईआरजीसीले अमेरिकी हस्तक्षेप भए खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य आधारहरू नै निशानामा पर्ने चेतावनी दिएको छ।

इरानी पक्षका अनुसार सम्बन्धित जहाजले निर्धारित समुद्री मार्ग उल्लंघन गरेको र पटक–पटक चेतावनी दिँदा पनि अटेर गरेपछि कारबाही गरिएको हो। इरानले आफ्नो जलक्षेत्र हुँदै यात्रा गर्ने मार्गलाई मात्र सुरक्षित रहेको दाबी गर्दै आएको छ।

यसअघि पनि अमेरिकी समर्थनमा यात्रा गरिरहेका तेल ट्यांकरहरू लक्षित आक्रमण भएपछि अमेरिका र इरानबीच सैन्य टकराव बढ्दै गएको थियो। पछिल्लो अमेरिकी हवाई आक्रमणमा १७ जनाको मृत्यु र ११५ जना घाइते भएको इरानको दाबी छ। त्यसको प्रत्युत्तरस्वरूप इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी साझेदार मुलुकहरूलाई लक्षित गर्दै आक्रमण गरेको जनाएको छ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम समाप्त भएको घोषणा गर्दै इरानमाथि थप दबाब बढाएका छन्। यद्यपि कूटनीतिक वार्ताको ढोका भने खुला राखिएको उनले बताएका छन्। अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार इरानले व्यापारिक जहाजमाथिको आक्रमण “गल्तीवश” भएको सन्देश मध्यस्थकर्तामार्फत पठाएको दाबी गरिएको छ, तर यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन।

तनावबीच नयाँ सर्वोच्च नेता आयतुल्लाह मोज्तबा खामेनीले पहिलो सार्वजनिक सम्बोधन गर्दै अमेरिका र इजरायलसँग “बदला लिने” चेतावनी दिएका छन्। उनका पिता तथा पूर्वसर्वोच्च नेता आयतुल्लाह अली खामेनीको हालै अमेरिका–इजरायल आक्रमणमा मृत्यु भएको इरानी पक्षको दाबी छ।

विश्व अर्थतन्त्रमा ठूलो धक्का

होर्मुज जलमार्ग विश्वको करिब एक-पाँचौं हिस्सा कच्चा तेल र ठूलो परिमाणमा तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) ओसारपसार हुने समुद्री मार्ग हो। यो बन्द हुँदा साउदी अरेबिया, यूएई, कुवेत, कतार, इराकलगायत खाडी मुलुकबाट हुने ऊर्जा आपूर्ति प्रभावित हुने भएकाले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढ्न सक्ने विश्लेषण गरिएको छ।

ऊर्जा संकटसँगै समुद्री ढुवानी महँगिने, बीमा शुल्क बढ्ने, आपूर्ति श्रृंखला अवरुद्ध हुने र विश्वव्यापी महँगी थप चर्किने जोखिम बढेको छ।

नेपालमा कस्तो असर पर्न सक्छ ?

नेपालले प्रत्यक्ष रूपमा खाडीबाट तेल आयात नगरे पनि भारतमार्फत आयात हुने पेट्रोलियम पदार्थको मूल्य अन्तर्राष्ट्रिय बजारसँग जोडिएको हुन्छ। त्यसैले कच्चा तेलको मूल्य बढेमा नेपालमा पनि पेट्रोल, डिजेल, ग्यास र हवाई इन्धन महँगिन सक्ने सम्भावना बढेको छ।

यसको असर सार्वजनिक यातायात, ढुवानी, निर्माण सामग्री, खाद्यान्न, औद्योगिक उत्पादन तथा दैनिक उपभोग्य वस्तुको मूल्यमा पर्ने अर्थविद्हरूको अनुमान छ। पेट्रोलियमको मूल्यवृद्धिसँगै नेपालमा फेरि महँगी बढ्ने र आर्थिक गतिविधिमा दबाब सिर्जना हुने जोखिम देखिएको छ।

यससँगै खाडी क्षेत्रमा कार्यरत लाखौं नेपाली श्रमिकको सुरक्षा, रोजगारी र रेमिट्यान्समा समेत दीर्घकालीन असर पर्न सक्ने चिन्ता व्यक्त हुन थालेको छ। यदि युद्ध थप फैलियो भने श्रमिक उद्धार र नयाँ रोजगारीमा समेत चुनौती आउन सक्ने देखिन्छ।

विश्वको ऊर्जा आपूर्तिको केन्द्र मानिने होर्मुज जलमार्गमा उत्पन्न पछिल्लो संकटले अब केवल मध्यपूर्वलाई मात्र होइन, नेपालसहित विश्व अर्थतन्त्रलाई नै नयाँ अनिश्चितताको मोडमा पुर्‍याएको विश्लेषण गरिएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस