२०८३ श्रावण २० गते, बुधबार ११:१७

‘महाभारत’का अश्वत्थामा तथा ‘गजनी’का चर्चित खलनायक प्रदीप रावतको निधन

वीरगन्ज-

भारतीय चलचित्र तथा टेलिभिजन जगतका वरिष्ठ अभिनेता प्रदीप रावतको ७४ वर्षको उमेरमा निधन भएको छ। चर्चित टिभी सिरियल महाभारत’ मा अश्वत्थामाको प्रभावशाली भूमिका तथा आमिर खान अभिनित सुपरहिट चलचित्र ‘गजनी’ का निर्दयी खलनायकबाट विश्वभर परिचित रावतको क्यान्सरका कारण मंगलबार साँझ मुम्बईमा निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

लामो समयदेखि क्यान्सरसँग संघर्षरत रावत मुम्बईस्थित कोकिलाबेन धिरुभाई अम्बानी अस्पतालमा उपचाररत थिए। उनका प्रबन्धक सिद्धार्थ आर. तिवारीका अनुसार पछिल्लो एक महिनादेखि उनको उपचार चलिरहेको थियो। केही समयअघि उनलाई भिवण्डीस्थित क्यान्सर अस्पतालमा पनि सारिएको थियो। उनका परिवारमा पत्नी कल्याणी रावत र छोरा विक्रमादित्य रावत छन्।

रावतको निधनपछि भारतीय फिल्म उद्योग शोकमग्न बनेको छ। अभिनेता यशपाल शर्माले सामाजिक सञ्जालमा ‘हाम्रा गजनी देवा प्रदीप रावतप्रति हार्दिक श्रद्धाञ्जली’ लेख्दै दुःख व्यक्त गरेका छन्। अभिनेता गजेन्द्र चौहानले पनि ‘महाभारत’ मा उनले निर्वाह गरेको अश्वत्थामाको भूमिकाको स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्।

प्रदीप रावतले चलचित्र र टेलिभिजन दुवै क्षेत्रमा चार दशकभन्दा बढी समय अभिनय गर्दै बलियो पहिचान बनाएका थिए। विशेषगरी खलनायक र शक्तिशाली चरित्र भूमिकामा उनको अभिनय अत्यन्त प्रशंसित थियो।

उनले अभिनय गरेका प्रमुख चलचित्रहरूमा सरफरोश, लगान, नायक : द रियल हिरो, गजनी, बाघबान, आवारापन, मगधीरा, स्टालिन, सैनिकुडु, परदेशी, चाइना बक्स, असल, थुप्पाक्की, ग्रान्ड मस्ती, राजा द ग्रेट तथा पछिल्लो चलचित्र छावा उल्लेखनीय छन्। हिन्दीसँगै उनले तेलुगु, तमिल, कन्नड, मलयालम र नेपाली चलचित्रमा समेत अभिनय गरेका थिए।

टेलिभिजनतर्फ उनले बी. आर. चोप्राको ऐतिहासिक धारावाहिक महाभारत’ मा गुरु द्रोणाचार्यका पुत्र अश्वत्थामाको भूमिका निर्वाह गरेर घरघरमा लोकप्रियता कमाएका थिए। त्यसबाहेक उनले ‘मुखिया’, ‘युग’, ‘आर्यमान–ब्रह्माण्ड का योद्धा’, ‘सिया के राम’ लगायतका टिभी सिरियलमा पनि अभिनय गरेका थिए।

नेपाली दर्शकमाझ पनि उनी परिचित थिए। उनले पल शाह र बिपना थापा अभिनित नेपाली चलचित्रमा समेत अभिनय गरेका थिए।

भारतीय चलचित्र उद्योगमा खलनायक पात्रलाई जीवन्त र प्रभावशाली ढंगले प्रस्तुत गर्ने अभिनेताका रूपमा प्रदीप रावतको योगदान सधैं स्मरणीय रहनेछ।

प्रतिक्रिया

नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति, अनसन

नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति, अनसन

विशेष

पोडकास्ट सुन्नुहोस