वीरगन्ज –
मधेस प्रदेशका दुई खेलाडी आसिफ शेखको सुझबुझपूर्ण शतक र गुल्शन झाको आक्रामक अर्धशतकको मद्दतमा नेपालले एसीसी प्रिमियर कपको फाइनलमा यूएईसामु ३१३ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ।
वायुमास क्रिकेट ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३१३ रन बनाएको हो।
नेपालको बलियो योगफलको आधार तयार पार्ने क्रममा आसिफ शेखले १०६ बलमा ८ चौका र ४ छक्कासहित १०२ रनको शतकीय पारी खेले। त्यस्तै गुल्शन झाले केवल ३८ बलमा ३ चौका र ४ छक्कासहित आक्रामक ५२ रन बनाए।
आसिफले ओडीआई करियरको दोस्रो शतक पूरा गर्दै नेपालको पारीलाई सम्हालेका थिए। उनले पहिलो विकेटका लागि अर्जुन कुमालसँग ९७ रनको महत्वपूर्ण साझेदारी गरे। त्यसपछि इशान पान्डेसँग दोस्रो विकेटका लागि ३६ रन तथा रोहित पौडेलसँग तेस्रो विकेटका लागि ६८ रनको साझेदारी गर्दै नेपाललाई बलियो अवस्थामा पुर्याए।
आसिफले १०२ रन बनाएर आउट हुँदा अर्जुन कुमालले ४३ र रोहित पौडेलले ४० रन जोडे। त्यसपछि क्रिजमा आएका गुल्शनले छोटो समयमै आक्रामक ब्याटिङ गर्दै नेपालको रनगति तीव्र बनाए। उनको ५२ रनको विस्फोटक पारीले नेपाललाई ३ सय रनको आँकडा पार गराउन महत्वपूर्ण भूमिका खेल्यो।
यूएईका लागि इबरार अहमदले ४ विकेट लिए भने खुजाइमा बिन तनभिरले २ तथा हैदर अली र अदीब उसमानीले १–१ विकेट लिए।
अब फाइनलको परिणामले नेपालको आगामी बाटो तय गर्नेछ। फाइनल जिते नेपाल एसिया कपका लागि छनोट हुनेछ।











