२०८३ आश्विन १३ गते, मंगलवार १८:२८

सुखीपुरमा ६ महिनादेखि सामाजिक सुरक्षा भत्ता रोकियो: रास्वपाको नेतृत्वमा लाभग्राही आन्दोलित, असोज मसान्तभित्र वितरण गर्ने मेयरको प्रतिबद्धता

सिरहा—

आर्थिक वर्ष २०८२/०८३ मै भुक्तानी हुनुपर्ने सामाजिक सुरक्षा भत्ता लामो समयसम्म नपाएपछि सिरहाको सुखीपुर नगरपालिकाका लाभग्राही आन्दोलित भएका छन्। करिब ६ महिनादेखि भत्ता रोकिँदा ज्येष्ठ नागरिक, एकल महिला, अपांगता भएका व्यक्ति तथा अन्य लक्षित वर्गका लाभग्राहीहरू आर्थिक समस्यामा परेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सुखीपुरको अगुवाइमा लाभग्राहीहरूले सोमबार नगरपालिकामा प्रदर्शन तथा धर्ना दिएका हुन्। उनीहरूले लामो समयदेखि रोकिएको सामाजिक सुरक्षा भत्ता तत्काल उपलब्ध गराउन माग गरेका छन्। समयमा भत्ता नपाउँदा दैनिक घरायसी खर्च व्यवस्थापन गर्न र औषधि उपचार गर्नसमेत समस्या भइरहेको लाभग्राहीहरूको गुनासो छ।

‘प्राविधिक त्रुटि’ भन्दै नगरप्रमुखको स्पष्टीकरण र प्रतिबद्धता सुखीपुर नगरपालिकाका नगरप्रमुख रामऔतार यादवले सामाजिक सुरक्षा भत्ता वितरणमा भएको ढिलाइप्रति दुःख व्यक्त गर्दै भुक्तानी रोकिनुको कारण ‘केही प्राविधिक त्रुटि’ भएको बताएका छन्।

नगरप्रमुख यादवले सार्वजनिक गरेको प्रतिबद्धतापत्रमा आर्थिक वर्ष २०८२/०८३ को वैशाख, जेठ र असारको बक्यौता तथा चालु आर्थिक वर्ष २०८३/०८४ को साउन, भदौ र असोजको भत्ता गरी दुई किस्ताको रकम असोज २४ गतेदेखि असोज मसान्तभित्र सम्बन्धित बैंकमार्फत वितरण गराउने प्रतिबद्धता जनाइएको छ। साथै, उनले राजनीतिक दलहरूलाई आन्दोलनका कार्यक्रम नगरि कार्यालय नियमित रूपमा सञ्चालन हुने वातावरण बनाउन आग्रह गरेका छन्।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस