वीरगन्जस्थित सुर्या हस्पिटल प्रा.लि.मा उपचारका क्रममा गलत औषधिको प्रयोगले एक सुत्केरी महिलाको दुवै मिर्गौला खराब भएको भन्दै तनाव उत्पन्न भएको छ।
रौतहट जिल्लाको यमुनामाई गाउँपालिका वडा नं. ४ निवासी सुत्केरी महिलाको स्वास्थ्यमा गम्भीर असर पुगेपछि आक्रोशित आफन्तहरूले अस्पतालमा प्रदान गर्नुका साथै सडकमा टायर बालेर बिरोध गरिरहेका छन्।
पीडितका श्रीमान् विश्वनाथ सिंहका अनुसार आफ्नी पत्नीलाई सुत्केरी गराउनका लागि सुर्या हस्पिटलमा भर्ना गरिएको थियो। सोही क्रममा चिकित्सकले चरम लापर्बाही गर्दै गलत औषधि प्रयोग गरेका कारण पत्नीको दुवै मिर्गौला खराब भएको उहाँको आरोप छ।
अस्पताल प्रशासनको लापर्बाहीविरुद्ध आफन्त र स्थानीयवासीले नाराबाजी गर्दै न्यायको माग गरेका छन्। प्रदर्शनका कारण अहिले अस्पताल परिसर र आसपासको क्षेत्र तनावग्रस्त बनेको छ।
स्थिति नियन्त्रण बाहिर नजाओस् भन्नका लागि घटनास्थलमा ठूलो संख्यामा प्रहरी टोली परिचालन गरिएको छ। प्रहरीले प्रदर्शनकारीलाई शान्त पार्ने र स्थिति सहज बनाउने प्रयास गरिरहेको छ।
यस विषयमा अस्पताल प्रशासनको प्रतिक्रिया भने आउन बाँकी छ।












