काठमाडौँ —
मधेस प्रदेशमा गुणस्तरीय स्वास्थ्य शिक्षा विस्तार, दक्ष जनशक्ति उत्पादन तथा विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्नका लागि छुट्टै विधेयक ल्याउनुपरेको स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले बताएकी छिन्।
प्रतिनिधिसभामा ‘रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्न बनेको विधेयक, २०८३’ माथि उठेका प्रश्नहरूको जवाफ दिँदै उनले संविधानले सुनिश्चित गरेको स्वास्थ्यसम्बन्धी हकलाई थप प्रभावकारी रूपमा कार्यान्वयन गर्न यो विधेयक ल्याइएको प्रस्ट पार्छिन्। संविधानको धारा ३५ र ५१ ले नागरिकको स्वास्थ्यसम्बन्धी हक, आधारभूत स्वास्थ्य सेवामा निःशुल्क पहुँच तथा जनस्वास्थ्यमा लगानी वृद्धिलाई जोड दिएको उनले उल्लेख गरिन्।
मन्त्री मेहताले राखेका प्रमुख बुँदाहरू:
- प्रादेशिक सन्तुलन: अन्य प्रदेशमा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरू सञ्चालनमा रहे पनि मधेस प्रदेशमा हालसम्म त्यस्तो प्रतिष्ठान नभएकाले नागरिकलाई आफ्नै प्रदेशमा विशेषज्ञ सेवा दिन यो आवश्यक छ।
- पूर्वाधार तयारी: प्रतिष्ठान स्थापनाका लागि ‘रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समिति (गठन) आदेश, २०८०’ जारी भई पूर्वाधार निर्माणका काम अघि बढिरहेका छन्।
- एकीकृत कानुनको नीति: भविष्यमा चिकित्सा शिक्षासम्बन्धी प्रतिष्ठानहरूलाई एकीकृत छाता ऐनमार्फत व्यवस्थित गर्ने नीति लिइए पनि हाललाई छुट्टै ऐनमार्फत यसको संस्थागत आधार तयार गर्नुपर्ने आवश्यकता छ।
छलफलका क्रममा माननीय सदस्यहरूबाट प्राप्त हुने सुझाव र रचनात्मक योगदानलाई मन्त्रालयले उच्च सम्मानका साथ ग्रहण गर्ने मन्त्री मेहताले बताइन्। छलफलपश्चात उक्त विधेयकसम्बन्धी प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ।











