२०८३ कार्तिक ११ गते, मंगलवार ११:१८

चक्रवात ‘अर्णव’ शक्तिशाली बन्दै, आन्ध्र प्रदेशको तटीय क्षेत्रमा उच्च सतर्कता

वीरगन्ज –

पश्चिम–मध्य बंगालको खाडीमा विकसित ‘अर्णव’ चक्रवात थप तीव्र बन्दै ‘अत्यन्त शक्तिशाली चक्रवाती आँधी’ मा परिणत भएको छ।

भारतीय मौसम विज्ञान विभाग (आईएमडी) का अनुसार आँधी उत्तर–पश्चिम दिशातर्फ अघि बढिरहेको छ। बुधबार दिउँसोसम्म बापटला र विशाखापट्टनमको बीचमा पर्ने यानम आसपासबाट आन्ध्र प्रदेश तथा यानमको तटीय क्षेत्र पार गर्ने सम्भावना छ।

तटीय क्षेत्र पार गर्दा आँधीको गति प्रतिघण्टा ११५ देखि १२५ किलोमिटरसम्म रहने र अधिकतम गति प्रतिघण्टा १४० किलोमिटरसम्म पुग्न सक्ने अनुमान गरिएको छ।

पछिल्लो विवरणअनुसार आँधीको केन्द्र विशाखापट्टनमबाट करिब ३०० किलोमिटर, काकिनाडाबाट ३६० किलोमिटर, मछलीपट्टनमबाट ४६० किलोमिटर र बापटलाबाट ५३० किलोमिटर टाढा रहेको छ। आँधी साँझसम्म पश्चिम–उत्तरपश्चिम दिशातर्फ अघि बढेपछि उत्तर–पश्चिमतर्फ मोडिने र बुधबार बिहानसम्म आन्ध्र प्रदेशको तटीय क्षेत्र पार गर्ने मौसम विभागले जनाएको छ।

चक्रवातका कारण तटीय आन्ध्र प्रदेश र यानममा मंगलबार र बुधबार, ओडिशामा बुधबार, छत्तीसगढमा बुधबार र बिहीबार तथा पूर्वी उत्तर प्रदेशमा बिहीबार भारीदेखि अति भारी वर्षा हुने चेतावनी दिइएको छ।

उत्तर प्रदेशका चित्रकूट, कौशाम्बी, प्रयागराज, फतेहपुर, प्रतापगढ, रायबरेली, अमेठी र सुल्तानपुरलगायत जिल्लामा वर्षा हुने सम्भावना रहेको छ।

समाचार एजेन्सी पीटीआईका अनुसार शुक्रबार बरेली, पिलिभित र शाहजहाँपुरसहित पूर्वाञ्चल, अवध तथा तराई क्षेत्रका विभिन्न स्थानमा वर्षा र तीव्र हावाहुरी चल्ने सम्भावना छ। यसको प्रभावले दिउँसोको तापक्रम ५ देखि ८ डिग्री सेल्सियससम्म घट्न सक्ने अनुमान गरिएको छ।

चक्रवातको जोखिमलाई ध्यानमा राख्दै पूर्वसावधानीस्वरूप ‘साउथ कोस्ट रेलवे’ ले मंगलबार र बुधबारका लागि ५३ वटा रेल सेवा रद्द गरेको छ। यात्रुको सुरक्षालाई प्राथमिकता दिँदै रेल सेवा रद्द गरिएको जनाउँदै रेल प्रशासनले यसबाट पर्न गएको असुविधाप्रति दुःख व्यक्त गरेको छ। साथै, यात्रुलाई रेल स्टेसन जानुअघि आफ्नो रेल सेवाको अवस्था र यात्रा मिति यकिन गर्न आग्रह गरिएको छ।

यसैबीच, अण्डमान तथा निकोबार प्रशासनले चक्रवातलाई ध्यानमा राख्दै सबै विद्यालय दुई दिनका लागि बन्द गर्ने निर्णय गरेको छ। प्रशासनले सर्वसाधारणलाई आवश्यक सुरक्षा सतर्कता अपनाउन पनि आग्रह गरेको छ।

बालबालिका तथा महिलाको पोषणमा असर नपरोस् भन्ने उद्देश्यले आँगनवाडी कार्यकर्ता तथा सहयोगीलाई सम्बन्धित क्षेत्रमा तैनाथ रहन निर्देशन दिइएको छ। आँगनवाडी केन्द्र बन्द रहे पनि लाभग्राहीका घरघरमा सुक्खा खाद्यान्न पुर्‍याउने व्यवस्था मिलाइएको प्रशासनले जनाएको छ।

यता, ओडिशा सरकारले सञ्चारमाध्यम तथा डिजिटल प्लेटफर्मका लागि निर्देशिका जारी गर्दै चक्रवातसम्बन्धी झूटा, भ्रामक वा अपुष्ट अनुमान तथा चेतावनी सम्प्रेषण नगर्न आग्रह गरेको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस