२०८३ कार्तिक ११ गते, मंगलवार १७:५८

‘अर्लब’ चक्रवातको जोखिम: पर्सा प्रशासनद्वारा उच्च सतर्कता अपनाउन अपील, धानबाली जोगाउन विशेष निर्देशन

बीरगन्ज–

बंगालको खाडीमा विकसित भएको शक्तिशाली ‘अर्लब’ चक्रवात (Cyclone) नेपाल प्रवेश गर्ने भएपछि जिल्ला प्रशासन कार्यालय पर्साले उच्च सतर्कता अपनाउन सार्वजनिक सूचना जारी गरेको छ। जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विशेष बुलेटिन अनुसार चक्रवातको प्रभावले आगामी कार्तिक १२ गते बिहीबार रातिदेखि कार्तिक १४ गते शनिबारसम्म मधेश प्रदेश लगायत देशका विभिन्न क्षेत्रमा चट्याङ र हावाहुरीसहित भारी वर्षा हुने सम्भावना रहेको छ।

सम्भावित विपद्बाट जनधनको सुरक्षा गर्न र जोमिख न्यूनीकरणका लागि प्रशासनले सम्पूर्ण किसान, यातायात व्यवसायी, सुरक्षा निकाय तथा आम नागरिकलाई पूर्वतयारी अपनाउन आग्रह गरेको छ। यसैबीच, प्रशासनले जारी गरेको चेतावनीलाई मध्यनजर गर्दै स्थानीय बासिन्दाका लागि निम्नअनुसारका विशेष सतर्कता निर्देशिका तथा अपील अघि सारिएको छ:

  • कृषि तथा बाली सुरक्षा: पाकेको धानबालीमा क्षति पुग्न नदिन किसानहरूलाई कार्तिक १२ गते बिहीबार अगावै धान काट्ने र भित्र्याउने काम सकिसक्न वा प्रतिकूल मौसमको अवधिभर उक्त कृषि कार्यहरू पूर्ण रूपमा स्थगित गर्न निर्देश गरिएको छ।
  • यात्रामा सावधानी: चक्रवातका कारण सडक तथा हवाई यातायातलगायत दैनिक जनजीवन नराम्ररी प्रभावित हुन सक्ने भएकाले अत्यन्त जरुरी काम बाहेक अनावश्यक यात्रा नगर्न र यात्रा गर्नै पर्ने अवस्थामा मौसमको अवस्था बुझेर मात्र घरबाहिर निस्कन अपिल गरिएको छ।
  • तटीय क्षेत्रका बासिन्दालाई चेतावनी: यस विषम मौसमको समयावधिमा पर्सा जिल्लाभरिका साना तथा ठूला खोला र नदीहरूका तटीय क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नागरिकहरूलाई उच्च सतर्कता अपनाउन भनिएको छ।
  • पहिरो र बाढीको जोखिम: आकस्मिक बाढी आउन सक्ने खोला, खरेरा नजिकका बस्तीहरू, पहिरोको उच्च जोखिम रहेका स्थानहरू तथा नदी किनारका सम्पूर्ण बासिन्दाहरूलाई बढी चनाखो र सतर्क रहन सचेत गराइएको छ।
  • आपतकालीन सम्पर्क नम्बरहरू: बाढी र वर्षातसम्बन्धी कुनै पनि जानकारी लिनका लागि ११५५ मा सम्पर्क गर्न सकिनेछ। यसैगरी, विपद् वा आपतकालीन अवस्थामा तत्काल मद्दत माग गर्न १२३४, नेपाल प्रहरीको हटलाइन नम्बर १०० र सशस्त्र प्रहरी बल, नेपालको हटलाइन नम्बर १११४ मा सम्पर्क गर्न प्रशासनले अनुरोध गरेको छ।
  • नियमित अपडेट लिन आग्रह: नेपाल मौसम विज्ञान विभाग तथा सम्बन्धित प्राधिकरणबाट मौसमसम्बन्धी जारी हुने अध्यावधिक पूर्वानुमान, पूर्वसूचना र चेतावनीमूलक सूचनाहरूको जानकारी निरन्तर लिइरहन सर्वसाधारणमा जोड दिइएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाद्वारा हस्ताक्षर गरी जारी गरिएको यस सूचनामार्फत पर्सा जिल्लाका सबै सरोकारवालाहरूलाई कार्तिक १२, १३ र १४ गतेसम्म थप सचेत र सुरक्षित रहन पुनः आग्रह गरिएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस