२०८३ कार्तिक १३ गते, बिहीबार २०:३१

‘अर्नब’ चक्रवातको सम्भावित जोखिम: प्रतिकार्यका लागि कमाण्ड पोस्टको तयारी तीव्र

काठमाडौं —

बंगालको खाडीमा विकसित भएको ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव र त्यसले नेपालमा निम्त्याउन सक्ने विषम मौसमी अवस्थाको सामना गर्न विपद् प्रतिकार्य कमाण्ड पोस्टले पूर्वतयारी थालेको छ।

पोस्टको बिहीबार बसेको बैठकमा चक्रवातको पछिल्लो अवस्था, त्यसबाट हुन सक्ने सम्भावित वर्षा तथा हिमपात, बाढीपहिरोको जोखिम र सडक अवरुद्ध भएमा तत्काल सञ्चालनमा ल्याउन गरिएका तयारीबारे सम्बन्धित कार्यालयका प्रतिनिधिहरूले विस्तृत जानकारी गराएका छन्।

नेपालमा चक्रवातको प्रभाव कस्तो रहन्छ?

बैठकमा जल तथा मौसम विज्ञान विभागकी प्रतिनिधि तथा प्रवक्ता विभूति पोखरेलले ‘अर्नब’ चक्रवात नेपाल प्रवेश गर्दा कमजोर भइसकेको भए पनि त्यसको प्रभावस्वरूप देशका केही भागमा वर्षा, हिमपात र सामान्य हावाहुरीको सम्भावना रहेको जानकारी दिइन्। चक्रवातका कारण मौसममा आउने प्रतिकूलताले विभिन्न क्षेत्रमा जोखिम निम्त्याउन सक्ने भएकाले पूर्वतयारीलाई उच्च प्राथमिकता दिइएको बैठकमा निष्कर्ष निकालिएको छ।

बैठकले जोखिममा रहेका जिल्लाहरूको वस्तुस्थितिबारे निरन्तर सूचना संकलन गर्न, सम्भावित जोखिमका बारेमा सर्वसाधारणलाई समयमै सचेत गराउन र आवश्यक पूर्वतयारी अपनाउन सम्बन्धित निकायलाई स्पष्ट निर्देशन दिएको छ।

साथै, सम्भावित बाढीपहिरो र सडक अवरोधलाई ध्यानमा राख्दै यातायात सञ्चालनलाई निरन्तरता दिन आवश्यक यन्त्र तथा उपकरणसहित तयारी अवस्थामा बस्न जोड दिइएको छ। विपद् उत्पन्न भइहालेमा तत्काल उद्धार तथा प्रतिकार्यका लागि सुरक्षा निकाय र अन्य सरोकारवालाहरूलाई उच्च सतर्कताका साथ खटिन भनिएको छ।

गृहमन्त्रालयको अपिल: सतर्क रहन आग्रह

मौसममा हुन सक्ने अचानकको परिवर्तनलाई मध्यनजर गर्दै विशेष गरी जोखिमयुक्त क्षेत्रका बासिन्दाहरूलाई थप सतर्क रहन आग्रह गरिएको छ। सम्भावित विपद्बाट बच्न र सुरक्षित रहन सम्बन्धित निकायबाट जारी हुने आधिकारिक मौसमसम्बन्धी सूचना तथा चेतावनीहरूमा विशेष ध्यान दिन गृहमन्त्रालयले अनुरोध गरेको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस