२०८३ कार्तिक १३ गते, बिहीबार २०:५४

धर्म-संस्कृतिको रक्षा र हिन्दू राष्ट्र पुनर्स्थापनामा जोड दिँदै वीरगन्जमा शिक्षा वर्ग सम्पन्न

वीरगन्ज-

हिन्दू स्वयंसेवक संघ नेपालको आयोजनामा सञ्चालित सातदिने आवासीय प्राथमिक शिक्षा वर्ग २०८३ को समापन कार्यक्रम वीरगन्जमा भव्य रूपमा सम्पन्न भएको छ। सात दिनसम्म सञ्चालन भएको उक्त आवासीय प्रशिक्षणमा सहभागी स्वयंसेवकहरूले शारीरिक, मानसिक तथा बौद्धिक विकाससँग सम्बन्धित विभिन्न अभ्यास र तालिम प्राप्त गरेका छन्।

समापन समारोहका अवसरमा स्वयंसेवकहरूले सात दिनसम्म सिकेका शारीरिक अभ्यास, अनुशासन तथा विभिन्न कौशलहरूको आकर्षक प्रदर्शन गरेका थिए। साथै विविध सांस्कृतिक झाँकीहरूसमेत प्रस्तुत गरिएको थियो। अनुशासित र सामूहिक प्रस्तुतिपछि स्वयंसेवकहरूले वीरगन्ज महानगरपालिकाका विभिन्न प्रमुख बजार तथा सडकहरूमा र्‍याली निकालेका थिए। नगरका विभिन्न भाग परिक्रमा गर्दै निकालिएको उक्त र्‍यालीपछि कार्यक्रमको औपचारिक समापन गरिएको थियो।

कार्यक्रममा माननीय विभाग सञ्चालक अशोक बैद्य, माननीय जिल्ला सञ्चालक माधव राजपाल, नगर सञ्चालक प्रेम कुशवाहा, वीरगन्ज भिस्वा गुम्बाका प्रतिनिधि तथा राष्ट्रिय सहकार्यवाह रञ्जित सराफलगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो।

समारोहलाई सम्बोधन गर्दै वक्ताहरूले पछिल्लो समय विभिन्न माध्यमबाट हिन्दू धर्म तथा संस्कृतिमाथि प्रहार भइरहेको भन्दै चिन्ता व्यक्त गरे। उनीहरूले आफ्नो धार्मिक तथा सांस्कृतिक पहिचानको संरक्षण र संवर्द्धनका लागि हरेक नागरिकले आ-आफ्नो स्थानबाट योगदान दिनुपर्नेमा जोड दिएका छन्।

नेपाल र हिन्दू धर्मको सम्मान गर्न आग्रह गर्दै वक्ताहरूले आगामी दिनमा नेपाल पुनः हिन्दू राष्ट्र बन्ने विश्वास समेत व्यक्त गरे। सातदिने प्रशिक्षणबाट प्राप्त ज्ञान, सीप र अनुशासनलाई व्यवहारमा उतार्दै स्वयंसेवकहरूले आगामी दिनमा संगठन र समाजमा सक्रिय भूमिका निर्वाह गर्ने आयोजकको अपेक्षा छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस