२०८३ कार्तिक १४ गते, शुक्रबार १२:१९

प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणका क्रममा जनकपुर-अयोध्या रेल सेवा उद्घाटन हुने तयारी

जनकपुरधाम —

जनकपुरधामदेखि भारतको अयोध्यासम्म विशेष रेल सेवा सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को आगामी भारत भ्रमणका क्रममा नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा उक्त रेल सेवाको उद्घाटन गर्ने तयारी भइरहेको छ।

नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीका अनुसार रेल सेवा सञ्चालनका लागि नेपाल र भारतका रेल्वे, भन्सार तथा सुरक्षा अधिकारीहरूबीच आवश्यक छलफल तीव्र रूपमा भइरहेको छ।

मंसिर ६ गतेको भ्रमण र सुरक्षा व्यवस्था

प्रधानमन्त्री शाह आगामी मंसिर ६ गतेदेखि भारत भ्रमणमा जाने तयारीमा रहे पनि उद्घाटनको औपचारिक मिति भने टुङ्गो लाग्न बाँकी छ।

रेल र यात्रुको सुरक्षाका लागि नेपालतर्फ नेपाली सुरक्षा निकाय र भारततर्फ भारतीय सुरक्षा निकाय परिचालन गर्ने विषयमा दुवै पक्षबीच सैद्धान्तिक सहमति भइसकेको छ। केही दिनअघि मात्र दुवै देशका रेल्वे, सुरक्षा, भन्सार तथा अध्यागमन अधिकारीहरूले जयनगर-जनकपुरधाम-कुर्था रेलमार्गको स्थलगत निरीक्षणसमेत गरेका थिए।

धार्मिक पर्यटन र आर्थिक गतिविधिमा टेवा

जनकपुरधाम र अयोध्याबीच प्रत्यक्ष रेल सेवा सञ्चालनमा आएपछि दुई देशबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्ध अझ सुदृढ हुने अपेक्षा गरिएको छ। यसले दुवै देशका तीर्थयात्री तथा धार्मिक पर्यटकको आवतजावतलाई सहज बनाउनेछ।

जनकपुरधाम उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष जीतेन्द्र महासेठले यो सेवाले धार्मिक पर्यटन प्रवर्द्धन गर्नुका साथै स्थानीय व्यापार र समग्र आर्थिक गतिविधिमा ठूलो सहयोग पुग्ने बताए।

हाल भारतको जयनगरदेखि जनकपुरधाम हुँदै महोत्तरीको बिजलपुरासम्म नियमित रेल सेवा सञ्चालनमा रहँदै आएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस