२०८३ कार्तिक १४ गते, शुक्रबार १२:३८

प्रहरी र लागुऔषध कारोबारीबीच दोहोरो मुठभेड: प्रहरीको गोली लागेर दुई भारतीय घाइते, तीन पक्राउ

मोरङ —

मोरङको रतुवामाईमा लागुऔषध नियन्त्रणका लागि खटिएको प्रहरी टोली र कारोबारीबीच बिहीबार राति जम्काभेट हुँदा गोली चलेको छ। प्रहरीले चलाएको गोली लागेर दुई जना भारतीय नागरिक घाइते भएका छन् भने एक नेपालीसहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

रतुवामाई नगरपालिका–६ शनिश्चरेमा राति करिब ९:३० बजे भएको उक्त घटनामा स्थिति नियन्त्रणमा लिन प्रहरीले आठ राउन्ड गोली चलाएको थियो।

पक्राउ परेकाहरूको साथबाट करिब ५०० ग्राम खैरो हेरोइन (ब्राउन सुगर), एक थान पेस्तोल र सोही पेस्तोलमा प्रयोग हुने गोली बरामद गरिएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए।

डीएसपी मिश्रका अनुसार रतुवामाई क्षेत्रमा लागुऔषधको ठूलो कारोबार भइरहेको विशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर, काठमाडौंका इन्स्पेक्टर राकेश यादव र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको संयुक्त टोलीले शनिश्चरे क्षेत्रमा निगरानी तथा चेकजाँच कडा बनाएको थियो।

सोही क्रममा भारतीय नम्बर प्लेटको मोटरसाइकल र अर्को एक गरी दुईवटा मोटरसाइकलमा आएका तीन जना शङ्कास्पद व्यक्तिलाई प्रहरीले रोक्न खोजेको थियो।

प्रहरीलाई देख्नासाथ उनीहरू भाग्न खोजेका थिए। नियन्त्रणमा लिने क्रममा उनीहरूले उल्टै प्रहरी टोलीमाथि नै गोली प्रहारको प्रयास गरेपछि स्थिति नियन्त्रणमा लिन र आत्मरक्षाका लागि प्रहरीले जवाफी गोली चलाउनुपरेको डीएसपी मिश्रले बताए।

प्रहरीले चाइनिज पेस्तोलबाट पाँच राउन्ड र ब्रेडा पेस्तोलबाट तीन राउन्ड गरी जम्मा आठ राउन्ड गोली चलाएको थियो। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस