२०८३ कार्तिक २७ गते, शुक्रबार २३:४८

पर्यटक भिसामा धार्मिक गतिविधि गर्ने ६ बंगलादेशी मेयर राजेशमान र नेता साहबुदिनको पहलमा छुटे

वीरगन्ज –

पर्यटक (टुरिस्ट) भिसामा नेपाल आएर धार्मिक गतिविधि सञ्चालन गरेको आरोपमा प्रहरी नियन्त्रणमा लिइएका ६ जना बंगलादेशी नागरिकलाई प्रहरीले रिहा गरेको छ । वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह र नेपाली कांग्रेसका नेता मोहम्मद सहाबुद्दिनको पहल तथा स्थानीयको रोहबरमा प्रहरीले उनीहरूलाई छाडेको हो ।

शुक्रबार राति करिब १० बजे जिल्ला प्रहरी कार्यालय पर्सा मातहतको श्रीपुर वडा प्रहरी कार्यालयबाट खटिएको टोलीले ती ६ जना बंगलादेशी नागरिकलाई नियन्त्रणमा लिएको थियो । उनीहरूलाई वडा प्रहरी कार्यालय श्रीपुरमा ल्याइएपछि तत्काल रिहाइको माग गर्दै करिब दुई सयको संख्यमा स्थानीयको समूहले प्रहरी चौकी घेराउ गरेका थिए । उक्त समूहमा कांग्रेस नेता सहाबुद्दिनसमेत सहभागी थिए । घेराउका क्रममा समाचार संकलनका लागि पुगेका सञ्चारकर्मीहरूलाई समेत अवरोध पुर्‍याइएको थियो ।

प्रहरीले नियन्त्रणमा लिइएकाहरूमाथि आवश्यक अनुसन्धान गरिरहेकै बेला वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह पनि चौकी पुगेका थिए । चौकीभित्र करिब ३० मिनेट छलफल गरी मेयर सिंह बाहिरिएको आधा घण्टापछि प्रहरीले नियन्त्रणमा लिइएका सबै जनालाई स्थानीयको जिम्मा लगाएर छाडेको हो ।

यस विषयमा वडाध्यक्ष सञ्जु छतकुलीले आफ्नो वडामा मस्जिदभित्र धार्मिक गतिविधि गरिरहेका बेला आफूलाई कुनै जानकारी नदिई विदेशी नागरिकलाई पक्राउ गर्नु कानुनविपरीत रहेको प्रतिक्रिया दिए । भिजिट भिसामा आएका नागरिकलाई पक्राउ गर्न नहुने उनको दाबी छ ।

अध्यागमन कार्यालय पर्साका अनुसार नियन्त्रणमा लिइएका ६ जनासहित १५ जनाको समूह गत असोज २७ गते बंगलादेशबाट हवाई मार्ग हुँदै नेपाल प्रवेश गरेको थियो । उनीहरूले कात्तिक ५ गते भिसाको म्याद थप गराएका थिए । अध्यागमन कानुनअनुसार पर्यटक भिसामा नेपाल आएर कुनै पनि किसिमका धार्मिक गतिविधि, सभा–सम्मेलन तथा धर्म प्रचारप्रसार गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ ।

वडाध्यक्ष छतकुलीका अनुसार उक्त बंगलादेशी टोलीको शनिबारदेखि पर्साको सुगौली, अलौ, अठराहा, हरपतगन्ज, कुहडी, उदयपुरघुमी तथा रौतहटका विभिन्न स्थानमा धार्मिक कार्यक्रम आयोजना गर्ने तालिका रहेको छ ।

पछिल्लो समय विदेशी नागरिकहरूले पर्यटक भिसाको दुरुपयोग गर्दै नेपालमा धार्मिक गतिविधि सञ्चालन गर्ने क्रम बढेको र यस्ता गतिविधिले स्थानीय स्तरमा सामाजिक सद्भावमा खलल पुर्‍याउन सक्ने भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् । यस घटनाबारे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं डीएसपी चक्र मल्लसँग प्रतिक्रिया लिन खोज्दा उनले बोल्न चाहेनन् ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस