२०८२ बैशाख १३ गते, शनिबार २२:५१

काठमाडौँ –

बलिउडकी चर्चित अभिनेत्री तथा आइटम गर्ल नोरा फतेही नेपाल आउने भएकी छिन् । आगामी जेठ ३ गते हायात ग्राउण्ड, बौद्ध टुसालमा आयोजना हुने ‘नोरा फतेही लाइभ इन नेपाल’ कार्यक्रममार्फत नोराले नेपाली दर्शकहरूलाई नचाउनेछिन् ।

वर्ल्ड वाइड फिल्मस् नेटवर्क प्रालिको आयोजनामा हुने यो कार्यक्रम शिक्षाबाट वञ्चित बालबालिकाहरूको सहयोगका लागि काम गर्दै आएको संस्था ह्युमन रस्पेक्ट नेपालको सहयोगार्थ आयोजना गरिएको हो । इभेन्ट व्यवस्थापनको जिम्मेवारी मनु मिडिया प्रालिले लिएको छ । नेपालमा हालसम्म आयोजना भएका अन्तर्राष्ट्रिय कलाकारहरूको शोमध्ये ‘नोरा फतेही लाइभ इन नेपाल’ अझ उत्कृष्ट हुने इभेन्ट म्यानेजर मनिष कार्कीले दाबी गरेका छन् । कार्यक्रमलाई भव्य बनाउन मुम्बईबाट नोरासहित २० भन्दा बढी कोरियोग्राफर र डान्सरहरू नेपाल आउनेछन् ।

आयोजक संस्थाले यो कार्यक्रममा नेपाली दर्शकसँगै सीमावर्ती क्षेत्रका भारतीय दर्शकहरू पनि सहभागी हुने विश्वास व्यक्त गरेको छ । नृत्य र संगीतले भरपुर मनोरञ्जन प्रदान गर्ने यो शोमा दर्शकहरूले भरपूर आनन्द लिन सक्नेछन् । फिल्म निर्माण र सामाजिक कार्यमा संलग्न दव मगर आयोजक संस्थाका अध्यक्ष देव मगरका अनुसार कार्यक्रममा चर्चित नेपाली कलाकारहरूको पनि प्रस्तुति रहनेछ ।

टिकटको मूल्य २ हजार, ४ हजार, ७ हजार र १६ हजार रुपैयाँ तोकिएको छ । आइतबारदेखि खल्ती एपमार्फत टिकट खरिद गर्न सकिनेछ । कार्यक्रममा अन्तर्राष्ट्रिय संयोजकको भूमिकामा युद्ध बानिया रहेका छन् । नोराले बलिउडमा ‘दिलबर दिलबर’, ‘कुसु कुसु’, ‘ओ साकी साकी’, ‘नाच मेरी रानी’ जस्ता सुपरहिट गीतहरूमा आफ्नो नृत्य र अभिनयको जादु देखाइसकेकी छिन् ।

यो कार्यक्रमले मनोरञ्जनसँगै सामाजिक उद्देश्यलाई पनि जोडेर नेपालमा अन्तर्राष्ट्रिय स्तरको प्रस्तुति पस्कने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस