२०८३ मंसिर ४ गते, शुक्रबार २:५७

चीनमा पदक विजेता वीरगन्जका तीन तेक्वान्दो खेलाडी महानगरद्वारा सम्मानित

वीरगन्ज—

चीनमा आयोजित अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पदक जित्न सफल वीरगन्जका तीन जना खेलाडीलाई वीरगन्ज महानगरपालिकाले सम्मान गरेको छ।

चीनको सान्या सहरमा गत सेप्टेम्बर २६ र २७ तारिकमा सम्पन्न ‘हेनान जिङ्लोङ युथ ओपन तेक्वान्दो च्याम्पियनसिप’ मा स्वर्ण र कांस्य पदक विजेता खेलाडीलाई आज एक कार्यक्रमबीच सम्मान गरिएको हो। २४ देशका खेलाडी सहभागी उक्त प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेका १८ खेलाडीमध्ये वीरगन्जबाट गएका तीनै जनाले पदक जित्न सफल भएका थिए।

प्रशिक्षक दिपेश मानन्धरका अनुसार प्रतियोगितामा अवन्तिका झाले आफ्नो तौल समूहमा स्वर्ण पदक जित्दा सान्वी शर्मा र अवन्सिका गुप्ताले कांस्य पदक हात पारेका थिए।

खेलाडीहरूलाई सम्मान गर्दै महानगर प्रमुख राजेशमान सिंहले अन्तर्राष्ट्रिय मञ्चमा पदक जितेर वीरगन्जको नाम चम्काएकोमा खुसी व्यक्त गर्नुभयो। उहाँले खेलाडीहरूको मिहिनेत, लगनशीलता र प्रतिभाले नगरको खेलकुद क्षेत्रको गौरव बढाएको बताउनुभयो।

महानगर प्रमुख सिंहले खेलकुद क्षेत्रको विकास, खेलाडीको क्षमता अभिवृद्धि तथा आवश्यक प्रोत्साहनका लागि महानगरपालिकाले आगामी दिनमा पनि निरन्तर सहयोग र सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभयो।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस