वीरगन्ज-
आज चैत्र शुक्ल नवमीका दिन देशभर श्रद्धा र भक्तिपूर्वक रामनवमी पर्व मनाइँदै छ। भगवान् श्रीरामचन्द्रको जन्मोत्सवका रूपमा मनाइने यो पर्वमा भक्तजनहरूले पूजा, आराधना, व्रत र भजनकीर्तन गरी उत्साहपूर्वक सहभागिता जनाइरहेका छन्।
त्रेतायुगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीका जेठा छोराका रूपमा चैत्र शुक्ल नवमीका दिन जन्मनुभएका श्रीरामलाई भगवान् विष्णुको सातौँ अवतार मानिन्छ। धार्मिक मान्यताअनुसार उहाँको जन्म पुनर्वसु नक्षत्र र कर्कट लग्नमा भएको थियो। कुण्डलीमा सूर्य, मङ्गल, गुरु, शुक्र र शनि ग्रह एकसाथ रहेको दुर्लभ योग परेको थियो। वर्षका चार नवरात्रमध्ये वासन्तीय नवरात्रको नवमी तिथिमा जन्मिएका रामचन्द्रले राक्षसी प्रवृत्तिको अन्त्य गरी रामराज्य स्थापना गर्नुभएको स्मरणमा यो पर्व मनाइन्छ।
धर्मशास्त्रविद् तथा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले रामनवमीको महत्वबारे बताउँदै भने, “रामराज्य भनेको मर्यादित, अनुशासित र नियन्त्रित शासनको प्रतीक हो। त्यसबेला शासक र जनता दुवै अनुशासित थिए। आजका शासकले पनि रामको आदर्शलाई अनुसरण गर्न सके यो पर्वको सार्थकता हुन्छ।”
रामनवमीका अवसरमा जनकपुरस्थित रामजानकी मन्दिरमा ठूलो मेला लागेको छ। नेपाल र भारतबाट आएका हजारौँ भक्तजनको घुइँचोले मन्दिर परिसर भरिएको छ। यहाँ रामलीला प्रदर्शनसहित विशेष पूजापाठको आयोजना गरिएको छ। त्यस्तै, भारतको अयोध्यामा पनि भव्य समारोहका साथ यो पर्व मनाइँदै छ।
शास्त्रीय मान्यताअनुसार चैत्र अष्टमीमा अष्ट मातृकाको पूजा गरी नवमीका दिन रामचन्द्रको पूजा, जप र ध्यान गर्नाले मनोकामना पूरा हुने विश्वास छ। ‘व्रतार्क’ ग्रन्थको अगस्त्य संहितामा उल्लेख भएअनुसार आज व्रत बसी श्रीरामको आराधना गर्नाले अनेक जन्मका पाप नष्ट भई वैकुण्ठ प्राप्ति हुन्छ।
यस दिन पवित्र नदी, ताल र कुण्डमा स्नान गरी रामगीता, अध्यात्म रामायण, वाल्मीकीय रामायण, तुलसीकृत रामचरितमानस र भानुभक्तीय रामायणको पाठ गर्ने परम्परा छ। भक्तजनहरू रातभर भजनकीर्तनमा सहभागी हुने गर्छन्। परापूर्वकालमा वासन्तीय नवरात्रलाई मूल दसैँ मानिए पनि पछि गर्मीका कारण असोजमा सारिएको भनाइ छ। चैत र असोजको नवरात्रलाई जाग्रत दसैँका रूपमा मनाइन्छ भने पुस र असारको नवरात्र सुप्त दसैँ कहलिन्छ।
रामनवमीले असत्य माथि सत्यको विजय र भगवान् श्रीरामको मर्यादित जीवनको स्मरण गराउँछ। मिथिलाका राजा जनककी छोरी सीतासँग विवाह गरी दुष्ट राक्षसहरूको नाश गर्नुभएका श्रीरामले आफ्ना पिताको आज्ञालाई सहज रूपमा पालना गरी मानवजातिलाई सत्यको मार्गमा लाग्न प्रेरित गरेको धार्मिक ग्रन्थहरूमा उल्लेख छ। आज देशभरका राम मन्दिरहरूमा भक्तजनको भीड लागेको छ भने यो पर्वले सामाजिक एकता र धार्मिक भावनालाई पनि प्रगाढ बनाइरहेको छ।