वीरगन्ज –
सामाजिक संस्था दाइजो एवम् सामाजिक कुरिति विरुद्ध जागरण मञ्चको आयोजना र केडिया आँखा अस्पतालको प्राविधिक सहयोगमा जगरनाथपुर गाउँपालिका वडा नम्बर २, पाण्डेपुरस्थित श्री ने.रा.प्रा. विद्यालयको प्राङ्गणमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।
जनमत पार्टीका युवा नेता एवं समाजसेवी बृजेशवर प्रसाद चौधरीको अध्यक्षतामा शनिबार आयोजित यो कार्यक्रममा स्थानीयको उल्लेखनीय सहभागिता रहेको थियो ।
शिविरमा केडिया आँखा अस्पतालका डा. रामदरेश साह र उनको टोलीले आँखा जाँच गरेका थिए । कार्यक्रममा समाजसेवीहरू शिवकुमार साह, नरेश यादव, धर्मराज ठाकुर, चन्देश्वर साह, प्रभा देवीलगायतको सक्रिय सहभागिता रहेको थियो ।
शिविरमा कुल १८३ जनाले आँखा जाँच गराएका थिए, जसमध्ये ४७ जनामा मोतियाबिन्दुको लक्षण देखिएको छ भने ३७ जनालाई आँखाको औषधि (आई ड्रप) प्रदान गरिएको छ । मोतियाबिन्दु देखिएका बिरामीहरूलाई यही हप्ताको सोमबार (चैत २५ गते) परवानीपुरस्थित केडिया आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गरिने आयोजकले जनाएको छ । शल्यक्रियासँगै औषधि, चश्मा, ब्लड टेस्ट र लेन्सको व्यवस्था पनि निःशुल्क गरिनेछ । बिरामीहरूको आवतजावतका लागि सवारी साधनको व्यवस्था समेत समाजसेवी बृजेशवर प्रसाद चौधरीले आफ्नै खर्चमा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
यो शिविरले स्थानीय समुदायमा स्वास्थ्य जागरूकता बढाउन र आर्थिक रूपमा विपन्नहरूलाई निःशुल्क उपचार प्रदान गर्न महत्त्वपूर्ण योगदान पुर्याएको छ ।