काठमाडौं–
मुलपानी क्रिकेट मैदानमा जारी तीन एकदिवसीय खेलको सिरिजमा अफगानिस्तान यू-१९ टोलीले एक खेल बाँकी छँदै श्रृंखला आफ्नो पक्षमा पारेको छ । आइतबार सम्पन्न दोस्रो खेलमा रोमाञ्चक अन्त्यमा नेपाल एक रनले पराजित भएसँगै अफगानिस्तानले सिरिज २–० ले जितेको हो ।
दोस्रो खेलको अन्तिम ओभरको तेस्रो बलमा नेपाललाई जितका लागि २ रन आवश्यक थियो । नेपाली ब्याट्सम्यान ध्रुव सोनार बोल्ड भएका थिए, तर अम्पायरले उक्त बललाई नो बल घोषणा गरे । तर, सोनारले अम्पायरको निर्णयतर्फ ध्यान नदिई क्रिज छाडेपछि अफगानिस्तानी खेलाडी खालित अहमदजाइले उनलाई रनआउट गरे । यो गलत बुझाइका कारण नेपाल जितको नजिक पुगेर पनि हार्न बाध्य भयो ।
टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तान ५० ओभरमा सबै विकेट गुमाउँदै १६८ रनमा समेटिएको थियो । कप्तान महबुब खानले सर्वाधिक ५८ रनको अर्धशतकीय इनिङ्स खेले । रोहुल्लाह अरबले २७, नाजिफुल्लाह अमिरीले १६, उजारुल्लाह नियाजाइले १९, खालित अहमदजाइले १० र खाइत्री स्टिकजाइले ११ रन जोडे । नेपालका सन्तोष यादवले ३ विकेट लिए भने विपिन शर्मा र सिव्रिन श्रेष्ठले समान २–२ विकेट हात पारे । अभिषेक तिवारी र अप्राजित पौडेलले १–१ विकेट लिए ।
१६९ रनको लक्ष्य पछ्याएको नेपाल ४९.३ ओभरमा १६७ रनमै अलआउट भयो । ओपनर साहिल पटेलले ६४ रनको शानदार अर्धशतकीय पारी खेले पनि टिमलाई जितसम्म पुर्याउन सकेनन् । अभिषेक तिवारीले २४, ध्रुव सोनारले २१, निरज कुमार यादवले १५ र कप्तान नरेन भट्टले १३ रन बनाए । पहिलो खेलमा नेपाल १३० रनको फराकिलो अन्तरले पराजित भएको थियो ।
सिरिजको अन्तिम खेल अब बुधबार मुलपानीमै हुनेछ । अफगानिस्तानले सिरिज जितिसके पनि नेपाल सम्मानजनक प्रदर्शनका लागि मैदान उत्रनेछ ।