वीरगन्ज-
वीरगन्ज महानगरपालिका वडा नं. ७, रेलबे रोड कुम्हालटोलमा अवस्थित पंचमुखी हनुमान मन्दिर परिसरमा आगामी वैशाख ९ गतेदेखि ‘श्री श्री १०८ श्रीराम महायज्ञ एवं भव्य श्रीराम कथा’ आयोजना हुने भएको छ। यज्ञ समितिले मंगलबार यज्ञ स्थलमै पत्रकार सम्मेलनको आयोजना गरी आध्यात्मिक महोत्सवको विस्तृत कार्यतालिका सार्वजनिक गरेको हो।
यज्ञ समितिका अनुसार महायज्ञ आगामी वैशाख ९ गतेदेखि सुरु भई १७ गतेसम्म चल्नेछ। महायज्ञको पहिलो दिन भव्य कलश यात्रा निकालिने कार्यक्रम छ। उक्त यात्रा यज्ञ स्थलबाट सुरु भई नगरको विभिन्न भागको परिक्रमा गर्दै घडिअर्वा पोखरीमा पुगेर जल भर्ने र पुनः नगर परिक्रमा गरी यज्ञ स्थलमै पुगेर समापन हुने स्वामी राजीव रंजन भारद्वाजले जानकारी दिनुभयो।
दैनिक कार्यक्रम र कथा वाचन
महायज्ञ अवधिभर हरेक दिन बिहान ८ बजेदेखि ११ बजेसम्म बेदी पूजन तथा दिउँसो ३ बजेदेखि साँझ ७ बजेसम्म श्रीराम कथा वाचन गरिनेछ। कथा वाचनका लागि काशीबाट आमन्त्रित प्रख्यात कथा वाचक पूज्य श्री मधुकर जी महाराजको विशेष उपस्थिति रहने आयोजकले जनाएको छ। यज्ञमा दैनिक भण्डाराको व्यवस्था गरिएको छ भने वैशाख १७ गते समापनका दिन भव्य रूपमा महाप्रसाद वितरण गरिनेछ।
आर्थिक व्यवस्थापन
महायज्ञ सञ्चालनका लागि करिब १५ देखि १७ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ। उक्त खर्चको व्यवस्थापन स्थानीय बासिन्दा तथा छिमेकी गाउँहरूबाट स्वेच्छिक रूपमा संकलन गरिएको चन्दाबाट जुटाइएको समितिले प्रष्ट पारेको छ।
हिन्दु पत्रकार संघ नेपालका अध्यक्ष राजन रौनियारको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा श्रीराम कथा आयोजक समितिका संयोजक गौरी प्रसाद गुप्ता, स्थानीय अगुवाहरू श्रवण बहादुर रायमाझी, दीपक गुप्ता, अभिलाष गुप्ता, अमर सर्राफ, रामु रायमाझी, नवल श्रीवास्तव, नन्दलाल यादव र मनोज मिश्रालगायतको उल्लेखनीय उपस्थिति रहेको थियो। महायज्ञले वीरगन्ज क्षेत्रको धार्मिक पर्यटन र सांस्कृतिक एकतामा टेवा पुऱ्याउने विश्वास गरिएको छ।













