वीरगन्ज-
वीरगन्जस्थित हरि खेतान बहुमुखी क्याम्पसका प्राध्यापक तथा कर्मचारीहरू आफ्ना दीर्घकालीन मागहरू पूरा गराउन आन्दोलित भएका छन्। क्याम्पस प्रमुख र व्यवस्थापन समितिले पटक-पटकको आग्रहलाई बेवास्ता गरेको भन्दै प्राध्यापक, कर्मचारी र विद्यार्थीहरूले आजदेखि क्याम्पस परिसरमा सामूहिक धर्ना कार्यक्रम सुरु गरेका हुन्।
विगत लामो समयदेखि सेवा–सुविधा, तलब–भत्ता र कार्य वातावरणमा सुधार लगायतका आधारभूत र जायज मागहरू राख्दै आए पनि प्रशासन गम्भीर नभएको आन्दोलनरत पक्षको आरोप छ। शान्तिपूर्ण रूपमा आफ्ना समस्या राख्दा समेत कुनै ठोस पहल नभएपछि बाध्य भएर सडक र धर्नाको बाटो रोज्नुपरेको उनीहरूले बताएका छन्।
आजदेखि सुरु भएको धर्ना कार्यक्रममा प्राध्यापक र कर्मचारीहरूसँगै विद्यार्थीहरूले पनि ऐक्यबद्धता जनाएका छन्। आन्दोलनकारीहरूले आफ्ना मागहरू यथाशीघ्र सम्बोधन नगरिए आन्दोलनलाई अझ सशक्त बनाउँदै लैजाने घोषणा गरेका छन्। उनीहरूले माग पुरा नभएमा आगामी दिनमा रिले अनसन देखि आमरण अनसनसम्मका कडा कार्यक्रमहरू सार्वजनिक गर्ने चेतावनी दिएका छन्।
“हाम्रो उद्देश्य क्याम्पस प्रशासनलाई जिम्मेवार बनाउनु र शैक्षिक वातावरणलाई थप सुदृढ गर्नु हो,” आन्दोलनरत एक प्राध्यापकले भने, “कर्मचारी र प्राध्यापकहरूको हक–हित सुनिश्चित नभएसम्म गुणस्तरीय शिक्षाको कल्पना गर्न सकिँदैन।”
आन्दोलनरत पक्षले यस न्यायपूर्ण आन्दोलनमा साथ दिन सरोकारवाला निकाय, अभिभावक, विद्यार्थी तथा आम नागरिकलाई हार्दिक अपील गरेका छन्। क्याम्पस प्रशासनले भने यसबारे अहिलेसम्म कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन। धर्नाका कारण क्याम्पसको प्रशासनिक र शैक्षिक गतिविधिमा प्रभाव परेको छ।













