२०८३ बैशाख १४ गते, सोमबार १०:४२

वैशाख २८ मा भारतीय विदेश सचिव मिसरी नेपाल आउने, यस्ता छन् एजेन्डा

काठमाडौँ –

भारतीय विदेश सचिव विक्रम मिसरी दुईदिने औपचारिक भ्रमणका लागि आगामी वैशाख २८ गते (मे ११) काठमाडौँ आउने भएका छन्। नेपालका विदेश सचिव अमृतबहादुर राईको निमन्त्रणामा हुन लागेको यो भ्रमणलाई प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सम्भावित भारत भ्रमणको ‘पहिलो खुड्किला’ का रूपमा हेरिएको छ।

भ्रमणका क्रममा नेपाल र भारतबीच रहेका द्विपक्षीय संयन्त्रहरूको प्रगति समीक्षा, ऊर्जा, भौतिक पूर्वाधार र डिजिटल कनेक्टिभिटीका क्षेत्रमा भएका सहकार्यका आयामबारे विस्तृत छलफल हुनेछ। विशेषगरी, अवरुद्ध रहेका परियोजनाहरूलाई अघि बढाउने र विगतका सम्झौताहरूलाई कार्यान्वयनमुखी बनाउनेतर्फ भ्रमण केन्द्रित रहने परराष्ट्र स्रोतले जनाएको छ।

विदेश सचिव मिसरीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट प्रधानमन्त्री बालेनलाई भारत भ्रमणको औपचारिक निमन्त्रणाको स्मरण गराउने कार्यक्रम छ। यद्यपि, प्रधानमन्त्री बालेनले ‘उपलब्धिविहीन भ्रमण नगर्ने’ अडान राख्दै आएका कारण यो भ्रमणलाई परिणाममुखी बनाउन दुवै पक्षले गृहकार्य गरिरहेका छन्।

मिसरीको भ्रमणभन्दा ठीक अघि दक्षिण र मध्य एसिया हेर्ने विशेष जिम्मेवारी पाएका भारतका लागि अमेरिकी राजदूत सर्जियो गोर पनि नेपाल आउने तयारीमा छन्। ट्रम्प प्रशासनका विश्वासपात्र मानिने ३८ वर्षीय गोरको भ्रमणले पनि काठमाडौँमा कुटनीतिक सरगर्मी बढाएको छ। परराष्ट्र स्रोतका अनुसार यदि राजदूत गोरले प्रधानमन्त्री बालेनसँग भेट पाएको खण्डमा भारतीय विदेश सचिव मिसरीका लागि पनि भेटको बाटो खुल्ने सम्भावना छ।

पछिल्लो समय प्रधानमन्त्री बालेनले ‘फोटो सेसन’ र ‘औपचारिकता’ मा मात्र सीमित हुने भ्रमणलाई निरुत्साहित गर्दै आउनुभएको छ। उहाँले ठोस काम र उपलब्धि नभई विदेश भ्रमणमा नजाने स्पष्ट सन्देश दिएकाले पनि यसपटकको कुटनीतिक दौडधूपलाई दुवै देशले गम्भीरतापूर्वक लिएका छन्।

मिसरीको भ्रमणपछि दुई देशबीचका प्राविधिक संयन्त्रको बैठक बस्ने र त्यसलगत्तै भारतीय विदेशमन्त्री एस. जयशंकरको नेपाल भ्रमण हुने कार्यतालिका तय गरिएको छ। यी श्रृंखलाहरू सफल भएपछि मात्र प्रधानमन्त्री बालेनको औपचारिक नयाँ दिल्ली भ्रमणको मार्ग प्रशस्त हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस