वाशिङटन डीसी –
विश्वकै शक्तिशाली व्यक्ति मानिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी एक भव्य समारोहमा शनिबार राति एकाएक गोली चल्दा स्थिति तनावपूर्ण बनेको छ। वाशिङटन डीसीस्थित हिल्टन होटलमा ह्वाइट हाउस संवाददाताहरूका लागि आयोजित रात्रिभोज चलिरहेका बेला भएको यो घटनाले सुरक्षा संयन्त्रमाथि ठूलो प्रश्नचिन्ह खडा गरिदिएको छ।
अमेरिकी समयअनुसार राति साढे ८ बजेतिर जब राष्ट्रपति ट्रम्प, प्रथम महिला मेलेनिया ट्रम्प र उपराष्ट्रपति जेडी भान्स मञ्चमा बसिरहेका थिए, त्यही बेला मुख्य हल नजिकै गोलीको आवाज सुनियो। राष्ट्रपति ट्रम्पले पत्रकारहरूसँग भोजन गरिरहेका बेला भएको यो आकस्मिक आक्रमणको प्रयासपछि सेक्रेट सर्भिसका एजेन्टहरूले उनलाई तत्कालै सुरक्षित स्थानतर्फ लगेका थिए।
प्रहरीले घटनास्थलबाट ३१ वर्षीय कोल टोमास एलेनलाई पक्राउ गरेको छ। क्यालिफोर्नियाका यी शिक्षक सोही होटलमा पाहुनाका रूपमा बसेका थिए। उनको साथबाट एउटा शटगन, एउटा ह्यान्ड गन र चक्कुहरू बरामद गरिएको छ। प्रारम्भिक अनुसन्धानका अनुसार एलेन सुरक्षा जाँच पार गरेर मुख्य हलतिर छिर्दै गर्दा सुरक्षाकर्मीसँग जम्काभेट भएको थियो। उनी राष्ट्रपति ट्रम्पभन्दा मात्र ३० सेकेण्डको पैदल दूरीमा पुगिसकेका थिए।
घटनापछि एक पत्रकारको प्रश्नको जवाफ दिँदै ट्रम्पले निकै शान्त तर अर्थपूर्ण प्रतिक्रिया दिएका छन्। उनले भने-“जो मानिसहरू सबैभन्दा प्रभावशाली हुन्छन्, उनीहरूलाई नै निशाना बनाइन्छ। खासै महत्वपूर्ण नभएका व्यक्तिहरूका पछाडि कसैको ध्यान जाँदैन।”
यो ट्रम्पमाथि भएको पहिलो आक्रमणको प्रयास होइन। सन् २०२४ को जुलाईमा पेन्सिल्भेनियामा कानमा गोली लागेको घटनादेखि २०२६ फेब्रुअरीमा मार-ए-लागो निवासमा भएको घुसपैठसम्म आइपुग्दा ट्रम्पको सुरक्षामा पटक-पटक गम्भीर कमजोरीहरू देखिएका छन्। सुरक्षा अधिकारीहरूले यसपटक ती व्यक्ति कसरी हतियारसहित होटलभित्र छिर्न सफल भए भन्नेबारे गम्भीर छानबिन थालेका छन्।










