काठमाडौँ –
सक्कली नोटकै झल्को दिने नक्कली मुद्रा देखाएर सर्वसाधारणलाई ठगी गर्ने गिरोहको भण्डाफोर भएको छ। नेपाल प्रहरी ले आइतबार सञ्चालन गरेको विशेष अपरेशनमा ६ जनालाई पक्राउ गर्दै यस्तो धन्दा उजागर गरेको हो।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले कीर्तिपुर नगरपालिका-६, पाण्डे छाप क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ।
पक्राउ पर्नेहरूमा बारा घर भएका ३८ वर्षीय मिलनकुमार तामाङ, दक्षिणकाली नगरपालिका–७ का २६ वर्षीय योगबहादुर तामाङ र ३६ वर्षीय भविन्द्रकुमार तामाङ छन्। त्यस्तै, चितवन रत्ननगर -५ का ३४ वर्षीय प्रवीण महतो, रौतहट गुजरा -१ की २८ वर्षीया मुना धामी र चितवन कालिका -५ का ३८ वर्षीय सत्यनारायण चौधरी पनि समातिएका छन्।
प्रहरी अनुसन्धानअनुसार, उक्त समूहले “सक्कली जस्तै देखिने नक्कली नोट सजिलै प्रयोग गर्न सकिन्छ” भन्ने प्रलोभन दिँदै सर्वसाधारणलाई जालमा पार्ने गर्थे। अझ चकित पार्ने कुरा,सक्कली रकमको दोब्बर बराबर नक्कली नोट साटिदिने आश्वासन दिँदै उनीहरूले ठगी गर्दै आएको खुलासा भएको छ।
हाल पक्राउ परेका सबैलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ। प्रहरीले यस किसिमका प्रलोभनमा नपर्न सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ।











