काठमाडौं-
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँको निजी आवास र कार्यालयहरूमा सम्पत्ति शुद्धीकरण विभागले एकैसाथ छापा मारेपछि राजनीतिक वृत्त तरंगित बनेको छ।
‘क’ वर्गका ठेकेदारसमेत रहेका बानियाँमाथि सम्पत्ति लुकाएको र अवैध आम्दानी आर्जन गरेको आशंका गर्दै विभागले अनुसन्धान तीव्र पारेको हो। सोही क्रममा काठमाडौंको नक्सालस्थित निवास, सुन्धारास्थित कार्यालय तथा हेटौंडामा रहेका घर र कार्यालयमा एकैपटक छापा मारिएको विभागका एक अधिकारीले जानकारी दिएका छन्।
छापापछि बागमती प्रदेशको राजनीतिक माहोल तातेको छ। सत्तारूढ दलभित्रै समेत यस घटनालाई गम्भीर रूपमा हेरिएको छ भने प्रतिपक्षले पारदर्शिता र जवाफदेहिताको माग तीव्र बनाउने संकेत दिएको छ।
२०८२ साउन २० गते मुख्यमन्त्रीमा नियुक्त भएका बानियाँ नेपाली कांग्रेसका बागमती प्रदेश सभापति समेत हुन्। अब यस प्रकरणले प्रदेश सरकारको छवि र आगामी राजनीतिक समीकरणमा कस्तो असर पार्ने हो। सबैको ध्यान त्यतै केन्द्रित भएको छ।











