२०८३ आश्विन १८ गते, आईतवार १०:५२

९ सय ६० किलो चकलेटसहित ६ जना पक्राउ

वीरगन्ज –

दशैं, तिहारलगायतका ठूला चाडपर्व नजिकिँदै गर्दा खुला सीमाको फाइदा उठाउँदै बारा, पर्सालगायतका सीमावर्ती जिल्लामा विभिन्न मालवस्तुको अवैध ओसारपसार बढ्न थालेको छ । यही क्रममा भारतबाट नेपालतर्फ अवैध रूपमा चकलेट ल्याउँदै गरेको आरोपमा ६ जना नेपाली पक्राउ परेका छन् ।

भारत–नेपाल सीमास्थित नायकटोला क्षेत्रमा शनिबार साँझ भारतीय सीमा सुरक्षा बल (एसएसबी) को ७१औँ वाहिनीअन्तर्गत ई–कम्पनी बीओपी नायकटोलाको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

एसएसबीका अनुसार विशेष सूचनाका आधारमा सीमाक्षेत्रमा निगरानी बढाइएको थियो । सो क्रममा साइकलमा सामान बोकेर नेपालतर्फ आउँदै गरेका व्यक्तिहरूको गतिविधि शंकास्पद देखिएपछि रोकेर जाँच गर्दा ६ वटा साइकलमा २४ बोरा चकलेट फेला परेको थियो ।

बरामद चकलेटको तौल करिब ९६० किलो रहेको एसएसबीले जनाएको छ ।

पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका–मटिअर्वाका ४० वर्षीय राजु महतो, ४८ वर्षीय रामानन्द महतो, ४५ वर्षीय सुरेन्द्र महतो, ४७ वर्षीय रामप्रवेश मण्डल, ४५ वर्षीय महेन्द्र महतो र २२ वर्षीय विकासकुमार मण्डल रहेका छन् ।

एसएसबीले पक्राउ परेकाहरू भारतबाट चकलेट नेपालतर्फ ल्याउँदै गरेको जनाएको छ । उनीहरूका साथबाट बरामद चकलेट र साइकलसहित आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि मोतिहारीस्थित भन्सार कार्यालयमा बुझाइएको छ ।

चाडपर्वको समयमा बजारमा उपभोग्य तथा अन्य मालवस्तुको माग बढ्ने भएकाले सीमावर्ती क्षेत्रमा अवैध ओसारपसार नियन्त्रण गर्न सुरक्षा निकायले निगरानी बढाएको जनाएको छ ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस