मुख्य निर्वाचन आयुक्तको राजीनामा र एसआईआर रोक्न माग गर्दै प्रदर्शन, ४३ हजार सुरक्षाकर्मी परिचालन
काठमाडौं –
भारतको राजधानी दिल्लीमा ककरोच जनता पार्टी (सीजेपी) को प्रदर्शन रोक्न प्रहरीले व्यापक धरपकड गरेको छ। प्रदर्शनअघि पार्टीका संस्थापक अभिजित दीपके, आशुतोष रांका र सौरव दासलाई विमानभित्रैबाट नियन्त्रणमा लिइएको छ भने युट्युबर ध्रुव राठीलाई गुरुग्रामस्थित निवासबाट पक्राउ गरिएको समाचारमा उल्लेख छ। राजधानीका विभिन्न स्थानबाट सीजेपीका अन्य ६०० समर्थकलाई समेत प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ।
मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा र विशेष गहन पुनरावलोकन (एसआईआर) प्रक्रिया रोक्न माग गर्दै सीजेपीले दिल्लीको जन्तर मन्तरमा प्रदर्शन आह्वान गरेको थियो। प्रदर्शनमा सहभागी हुन दिल्ली पुगेका पार्टीका संस्थापकहरूलाई विमानबाट ओर्लनुअघि नै नियन्त्रणमा लिइएको बताइएको छ।
प्रदर्शनलाई लक्षित गर्दै दिल्लीमा करिब ४३ हजार प्रहरी तथा अर्धसैनिक सुरक्षाकर्मी परिचालन गरिएको छ। प्रहरीले विभिन्न सडकमा अवरोध खडा गर्नुका साथै प्रदर्शनमा सहभागी हुन जन्तर मन्तरतर्फ जाँदै गरेका सीजेपी समर्थकलाई विभिन्न स्थानबाट नियन्त्रणमा लिएको समाचारमा उल्लेख छ।
पार्टीकी कानुनी मामिला प्रमुख रत्ना सिंहले प्रहरी आफ्नो घर पुगेको र आफू सवार कारलाई घेरा हालेको भिडियो सार्वजनिक गरेकी छन्। उनका अनुसार प्रहरीले माथिबाट आदेश आएको भन्दै उनलाई घरमै बस्न भनेको थियो। कारमा आफूहरूसहित तीन महिला रहेको उनले बताएकी छन्।
प्रदर्शन रोक्न प्रशासनले नयाँ दिल्ली क्षेत्रमा शुक्रबारदेखि भारतीय नागरिक सुरक्षा संहिताको धारा १६३ लागू गरेको थियो। यसअघि ५० भन्दा बढी मेट्रो स्टेसन बन्द गर्ने र दुई प्रमुख रेल स्टेसनमा सेवा रोक्ने आदेश दिइए पनि सर्वोच्च अदालतले यातायात सेवा पूर्ण रूपमा बन्द नगर्न निर्देशन दिएको थियो।
सीजेपीले यस प्रदर्शनलाई अघिल्लो ‘ककरोच आन्दोलन’को दोस्रो चरणका रूपमा अघि बढाएको छ। परीक्षामा अनियमितताको विरोधमा भएको पहिलो आन्दोलनपछि भारतका शिक्षा मन्त्रीले राजीनामा दिएका थिए।
यसैबीच, राहुल गान्धी नेतृत्वको भारतीय राष्ट्रिय कंग्रेससहित विपक्षी दलहरूले पनि मुख्य निर्वाचन आयुक्त कुमारको राजीनामा माग्दै आएका छन्। विपक्षी दल तथा आलोचकहरूले विशेष गहन पुनरावलोकनका क्रममा मतदाता नामावलीबाट करोडौँ मतदाताको नाम हटाएर भारतीय जनता पार्टी (भाजपा) लाई फाइदा पुर्याउन खोजिएको आरोप लगाएका छन्। भाजपाले भने उक्त आरोप अस्वीकार गर्दै आएको छ।











