२०८३ बैशाख २१ गते, सोमबार १७:१७

सीमाना नीति र ‘डोजर आतंक’ विरुद्ध काठमाडौंमा प्रदर्शन

काठमाडौं-

राष्ट्रिय एकता दलले सीमा क्षेत्रमा लागू गरिएको १०० रुपैयाँको प्रावधान खारेजी र बिना सूचना चलाइने डोजर नियन्त्रणको माग गर्दै सोमबार काठमाडौंमा प्रदर्शन गरेको छ। माइतीघर मण्डलामा आयोजित उक्त विरोध प्रदर्शनमा दलका नेता, कार्यकर्ता तथा सर्वसाधारण गरी करिब २०० जनाको सहभागिता रहेको थियो।

प्रदर्शनलाई सम्बोधन गर्दै दलका केन्द्रीय अध्यक्ष विनय यादवले सरकारले सीमा क्षेत्रका गरिब जनतामाथि अन्यायपूर्ण व्यवहार गरेको आरोप लगाउनुभयो। “एयरपोर्टबाट सुन र रक्सी सहजै भित्रिन्छ, तर सीमामा किसानले ल्याएको एक बोरा चामलमा पनि कडाइ गरिन्छ,” यादवले भन्नुभयो, “सरकारले धनीका लागि नियम फितलो र गरिबका लागि कडा बनाएर दोहोरो मापदण्ड अपनाएको छ, जुन अब सह्य हुँदैन।”

कार्यक्रममा वक्ताहरूले पछिल्लो समय सहरका विभिन्न स्थानमा बिना पूर्व सूचना चलाइएका डोजरप्रति कडा आपत्ति जनाएका छन्। पूर्व सूचना बिना जनताको घर भत्काउनु मानव अधिकारको ठाडो उल्लङ्घन भएको भन्दै उनीहरूले ‘डोजर आतंक’ तत्काल बन्द गर्न सरकारसँग माग गरे।

प्रमुख मागहरू:

प्रदर्शनका क्रममा सहभागीहरूले विभिन्न नारा अंकित प्लेकार्ड बोकेका थिए। उनीहरूका मुख्य मागहरू निम्न रहेका छन्:

  • नेपाल–भारत सीमामा लागू १०० रुपैयाँको प्रावधान खारेज गरिनुपर्ने।

  • किसानका लागि आवश्यक मलखादको तत्काल व्यवस्था हुनुपर्ने।

  • पूर्व सूचना बिना डोजर चलाउने कार्य बन्द हुनुपर्ने।

  • सीमा क्षेत्रका जनताको श्रमको सम्मान र अधिकार सुनिश्चित गरिनुपर्ने।

कार्यक्रममा नेताहरू तोयानाथ दहाल, कालानन्द मिश्र र प्यारी तामाङ लगायतले सम्बोधन गर्दै सरकारले आफ्ना मागहरूलाई बेवास्ता गरे आगामी दिनमा देशव्यापी रूपमा थप कडा आन्दोलन छेड्ने चेतावनी दिनुभयो। माइतीघरबाट सुरु भएको प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस