जनकपुर –
मधेश प्रदेश सरकारले सुरेश कुमार यादव लाई मिडिया काउन्सिल मधेश प्रदेशको कार्यवाहक अध्यक्ष तथा बोर्ड सदस्य पदबाट बर्खास्त गरेको छ।
गृह, सञ्चार तथा कानुन मन्त्रालयका अनुसार यादवले पदीय मर्यादा र कानुनी सीमाविपरीत गतिविधि गरेको निष्कर्षपछि सोमबार उनलाई पदमुक्त गरिएको हो। मन्त्रालयले सरकारी सेवा-सुविधा लिँदै आएको अवस्थामा समेत यादव प्रदेश सरकारविरुद्धकै गतिविधिमा सक्रिय रहेको आरोप लगाएको छ।
मन्त्रालयका अनुसार मिडिया काउन्सिलको कार्यालयमा राखिएको बोर्डबाट “मधेश प्रदेश सरकार” र “गृह, सञ्चार तथा कानुन मन्त्रालय” भन्ने शब्द हटाइएको अवस्था भेटिएको थियो। त्यस विषयमा पटक-पटक स्पष्टीकरण सोधिए पनि यादवले सन्तोषजनक जवाफ नदिएको जनाइएको छ।
त्यसैगरी, केही साताअघि जनकपुरधामस्थित पूर्वाधार विकास कार्यालय धनुषामा यादवकै अगुवाइमा तालाबन्दी गरिएको घटनापछि पनि मन्त्रालयमा गुनासो पुगेको थियो। पदीय जिम्मेवारीमै रहेका व्यक्तिले कानुनविपरीत गतिविधि गरेको भन्दै मन्त्रालयले यसबारे स्पष्टीकरण मागेको जनाएको छ।
गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतो ले यादवलाई पटक–पटक जिम्मेवारीबोधसहित जवाफ दिन आग्रह गरिएको भए पनि बेवास्ता गरिएको बताए। मन्त्री महतोका अनुसार यादवले पदीय आचारसंहिताको पालना नगरी प्रदेश सरकारविरुद्ध गतिविधिमा संलग्नता देखाएकाले अन्ततः पदमुक्त गर्ने निर्णय गरिएको हो।
मिडिया काउन्सिल मधेश प्रदेशमा हाल नेपाल पत्रकार महासंघ मधेश प्रदेशका एक पदेन सदस्यसहित चार सदस्य रहेका छन्। यसअघि काउन्सिलका अध्यक्ष कमल उपाध्याय विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएपछि उनी पदमुक्त भएका थिए। त्यसपछि यादवले कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए।











