२०८३ जेष्ठ १ गते, शुक्रबार १७:३५

मूल्य पारदर्शिता सप्ताह: वीरगन्जका होटलमा अनुगमन टोलीको छापा

वीरगन्ज-

‘मूल्य पारदर्शिता सप्ताह’ अन्तर्गत जिल्ला अनुगमन समितिको संयुक्त टोलीले वीरगन्ज महानगरपालिकाका विभिन्न क्षेत्रमा सञ्चालित होटल तथा क्यान्टिनहरूमा आकस्मिक छापा मारेको छ । आज शुक्रबार गरिएको विशेष निरीक्षणका क्रममा उपभोक्ता संरक्षण ऐन विपरीत कार्य गर्ने तीनवटा व्यावसायिक फर्महरूलाई स्थलगत रूपमै नगद जरिवानासहित कडा कारबाही गरिएको छ ।

अनुगमन टोलीका अनुसार बजारमा उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम कार्य नगरेको र कसुर गरेको पाइएकाले ती होटल तथा क्यान्टिनहरूलाई तत्कालै जरिवाना भुक्तान गर्न लगाउनुका साथै आवश्यक निर्देशन समेत दिइएको हो ।

कारबाहीका क्रममा वीरगन्ज महानगरपालिका वडा नम्बर ११ मा दीपक शाहद्वारा सञ्चालित तराई क्यान्टिन सबैभन्दा बढी कारबाहीमा परेको छ । उक्त क्यान्टिनले उपभोक्ता संरक्षण ऐनको दफा १५ बमोजिम कार्य नगरेको र सोही ऐनको दफा ३८ (ट) बमोजिमको कसुर गरेको ठहर गर्दै दफा ३९ (१) (घ) अनुसार तत्कालै ५० हजार रुपैयाँ जरिवाना गरिएको छ ।

यसैगरी, महानगरको वडा नम्बर १३ मा ज्योति मगरद्वारा सञ्चालित होटल शेखर थापामाथि पनि ऐनको दफा १५ को उल्लंघन र दफा ३८ (घ) बमोजिमको कसुरमा २० हजार रुपैयाँ जरिवाना तोकिएको छ । सोही वडामा उर्मिला महतोले सञ्चालन गरेको चौधरी होटललाई पनि ऐन विपरित कार्य गरेको पाइएपछि ५ हजार रुपैयाँ जरिवाना गरिएको अनुगमन टोलीले जनाएको छ ।

त्यस्तै, वडा नम्बर १३ मा नै सञ्चालित अनु देवीको व्यवसायमा भने केही प्राविधिक कमजोरी देखिएकाले तत्कालका लागि आवश्यक सुधार गर्न सामान्य निर्देशन दिइएको छ । बजारमा कृत्रिम मूल्यवृद्धि रोक्न, सरसफाइ कायम राख्न र उपभोक्ताको अधिकार सुरक्षित गर्न अनुगमनलाई आगामी दिनमा अझ तीव्र बनाइने संयुक्त टोलीले स्पष्ट पारेको छ ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस