२०८३ जेष्ठ ८ गते, शुक्रबार १५:५५

नेपाल र बंगलादेशका ‘जेन–जी’ युवा अराजक: भारतीय ककरोच जनता पार्टीका संस्थापक अभिजित दिप्के

काठमाडौँ

सामाजिक सञ्जालमार्फत एकाएक चर्चामा आएको ‘भारतीय ककरोच जनता पार्टी’ का प्रमुख संस्थापक अभिजित दिप्केले नेपाल र बंगलादेशका ‘जेन–जी’ (नयाँ पुस्ता) का युवाहरू अराजक रहेको गम्भीर आरोप लगाएका छन्। सामाजिक सञ्जाल एक्स (ट्विटर) मार्फत एक वक्तव्य जारी गर्दै उनले भारतका युवाहरूलाई नेपाल र बंगलादेशका युवासँग तुलना नगर्न चेतावनी समेत दिएका छन्।

‘धेरै पत्रकारहरूले मलाई सोधिरहेका छन्, के यो जेन–जी आन्दोलनले नेपाल वा बंगलादेशको जस्तो रूप लिन सक्ला ?’, दिप्केले लेखेका छन्, ‘म यो कुरा विल्कुल स्पष्ट गर्न चाहन्छु, यस्तो तुलना गरेर भारतीय जेन–जी युवाहरूलाई अपमान गर्ने वा कमजोर ठान्ने काम नगरियोस्। यस देशका युवाहरू धेरै मानिसले सोचेभन्दा बढी परिपक्व, सचेत र राजनीतिक रूपमा जागरुक छन्।’

उनले नेपाल र बंगलादेशमा जस्तो हिंसा गर्ने पक्षमा आफूहरू नरहेको दाबी गरे। भारतीय युवाहरू आफ्ना संवैधानिक अधिकारबारे राम्रोसँग जानकार रहेको र आफ्नो असहमति सधैँ शान्तिपूर्ण तथा लोकतान्त्रिक माध्यमबाट व्यक्त गर्ने उनको भनाइ छ। दिप्केले थपे, ‘यीमध्ये धेरै युवा अहिले सरकार चलाइरहेका थुप्रै व्यक्तिभन्दा बढी शिक्षित, सूचित र यथार्थप्रति सजग छन्, त्यसैले उनीहरूलाई होच्याउने काम नगर्नुहोस्।’

आलोचकहरूले सार्क क्षेत्रका दुवै देश (नेपाल र बंगलादेश) मा भएका हालैका ‘जेन–जी’ आन्दोलनहरू हिंसात्मक रहेको र त्यस क्रममा अनावश्यक रूपमा सरकारी संरचना तथा व्यावसायिक प्रतिष्ठानहरूमा आगजनी, तोडफोड र लुटपाट भएको आरोप लगाउँदै आएका छन्।

नेपाल र बंगलादेशमा ‘जेन–जी’ को त्यो उथलपुथल

नेपालमा गत वर्ष (२०८१) को २३ र २४ भदौमा जेन–जी युवाहरूले गरेको अभूतपूर्व आन्दोलनले देशको राजनीतिमा ठुलो उथलपुथल ल्याएको थियो। आन्दोलन उत्कर्षमा पुग्दै गर्दा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली पदबाट राजीनामा दिएर सरकारी निवास बालुवाटारबाट सैनिक हेलिकोप्टरमार्फत सुरक्षित स्थानतर्फ जानुपरेको थियो।

त्यस आन्दोलनपछि गठित पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले गत २१ फागुनमा मध्यावधि निर्वाचन गराएको थियो। उक्त निर्वाचनमा जेन–जी पुस्ताको बलियो समर्थन पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले करिब दुई तिहाइको भारी बहुमतसहित सत्ता सम्हाल्ने वैध म्यान्डेट पायो। सोही जनमतका आधारमा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) यतिबेला मुलुकको प्रधानमन्त्रीका रूपमा सरकार प्रमुख रहेका छन्।

नेपालको यो राजनीतिक परिवर्तनभन्दा करिब एक वर्षअघि २१ साउन २०८१ मा छिमेकी देश बंगलादेशमा पनि यस्तै ‘जेन–जी’ आन्दोलन चर्किएको थियो। आन्दोलनको दबाब थेग्न नसकेपछि तत्कालीन प्रधानमन्त्री शेख हसिना संसद् भवन (बंग भवन) बाट हेलिकोप्टर चढेर भारत भागेकी थिइन्, र उनी अहिले पनि भारतमै शरण लिइरहेकी छन्।

दक्षिण एसियाका दुई देशमा युवाहरूले सत्ता नै पल्टाएको परिदृश्यका बीच भारतीय युवा नेता दिप्केले भने आफ्नो आन्दोलन पूर्ण रूपमा शान्तिपूर्ण रहने दाबी गर्दै छिमेकी देशका आन्दोलनलाई ‘अराजक’ को संज्ञा दिएका हुन्।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस