२०८३ जेष्ठ १७ गते, आईतवार ११:१०

मुक्तिनाथ यात्रामा हतारको मूल्य , १३ जनाको मृत्यु

मुस्ताङ

हिमालको काखमा रहेको पवित्र तीर्थस्थल मुक्तिनाथ दर्शनका लागि हरेक वर्ष हजारौं श्रद्धालु पुग्छन्। तर यही यात्राले पछिल्लो समय एउटा डरलाग्दो प्रश्न जन्माएको छ । किन मुक्तिनाथ पुग्ने क्रममा लगातार पर्यटकहरूको ज्यान गइरहेको छ ?

चालु आर्थिक वर्षको जेठ १५ गतेसम्म मुस्ताङमा लेक लागेर नौ विदेशीसहित १३ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक भएपछि मुक्तिनाथ यात्रा फेरि चर्चामा आएको छ। धार्मिक आस्था बोकेर पुगेका ती यात्रुहरू हिमाली उचाइको अदृश्य शत्रुसँग जुध्न नसकेर सधैंका लागि अस्ताएका छन्।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार मृत्यु हुनेमध्ये चार नेपाली र नौ विदेशी नागरिक रहेका छन्। प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार अधिकांश पर्यटक मुक्तिनाथ क्षेत्र पुग्ने क्रममा वा उपचारका लागि प्रदेश अस्पताल जोमसोम ल्याइएपछि मृत्यु भएका हुन्।

आस्थाको यात्रा कि मृत्युको जोखिम?

मुस्ताङको मुक्तिनाथ क्षेत्र समुद्री सतहबाट तीन हजार मिटरभन्दा बढी उचाइमा अवस्थित छ। यहाँ अक्सिजनको मात्रा तुलनात्मक रूपमा कम हुन्छ। विशेषज्ञहरूका अनुसार शरीरले वातावरणसँग अनुकूल हुन नपाउँदै तीव्र गतिमा माथि पुग्दा ‘हाइअल्टिच्युड सिकनेस’ अर्थात् लेक लाग्ने समस्या देखिन्छ।

तर चिन्ताको विषय के छ भने, वर्षौंदेखि चेतावनी दिइँदै आए पनि किन अझै पनि पर्यटकहरू पर्याप्त जानकारी र तयारीबिना जोखिमपूर्ण यात्रामा निस्किरहेका छन् ?

भारतीय पर्यटक किन बढी जोखिममा ?

प्रहरीको तथ्यांकले अर्को गम्भीर संकेत दिएको छ। मुस्ताङमा लेक लागेर मृत्यु हुनेमध्ये भारतीय पर्यटकको संख्या उल्लेखनीय रूपमा बढी देखिएको छ। समथर भूभागबाट सिधै उच्च हिमाली क्षेत्रमा पुग्ने, पर्याप्त आराम नगर्ने तथा स्वास्थ्य अवस्था परीक्षण नगरी यात्रा गर्ने प्रवृत्तिले जोखिम बढाएको सरोकारवालाहरू बताउँछन्।

चेतावनी बोर्ड छन्, तर किन रोकिएन मृत्यु?

घाँसादेखि मुक्तिनाथसम्म विभिन्न स्थानमा सचेतनामूलक बोर्ड राखिएका छन्। एक्याप, प्रदेश जनस्वास्थ्य कार्यालय, मुक्तिनाथ विकास समिति, स्थानीय तह र सुरक्षा निकायले जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेका छन्। होटलहरूमा अक्सिजन सिलिन्डर र औषधिसमेत राखिएको छ।

तर यति धेरै प्रयास हुँदाहुँदै पनि मृत्युका घटना किन दोहोरिइरहेका छन्?

स्थानीय पर्यटन व्यवसायीहरूका अनुसार केही ट्राभल कम्पनीहरूले पर्यटकलाई आवश्यक ‘होल्डिङ’ समय नदिई छिटो गन्तव्यमा पुर्‍याउने गरेका छन्। अर्थात् शरीरलाई उचाइसँग घुलमिल हुन समय नदिँदा समस्या झन् गम्भीर बन्ने गरेको छ।

मुक्तिनाथ पुग्न हतार, स्वास्थ्यमा बेवास्ता

स्वास्थ्यकर्मीहरूका अनुसार ज्येष्ठ नागरिक, दीर्घरोगी, शारीरिक रूपमा कमजोर व्यक्ति तथा अपाङ्गता भएका यात्रुहरू बढी जोखिममा पर्ने गरेका छन्। यस्ता व्यक्तिले चिकित्सकीय परामर्शबिना यात्रा गर्दा स्थिति जटिल बन्न सक्छ।

मुक्तिनाथ मन्दिर परिसर र सिँढीमार्गमा ‘हाइअल्टिच्युड ट्रिटमेन्ट सेन्टर’ सञ्चालनमा रहे पनि धेरैजसो अवस्थामा समस्या गम्भीर भइसकेपछि मात्र उपचार खोजिने गरेको बताइन्छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस