२०८३ कार्तिक १९ गते, बिहीबार ०:३२

सर्लाहीमा एक लाख रुपैयाँ घुससहित मालपोतका नायब सुब्बा पक्राउ

मलंगवा/ सर्लाही —

सर्लाहीको सदरमुकाम मलंगवास्थित भूमि प्रशासन कार्यालय (मालपोत) मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ। टोलीले कार्यालयको मोही फाँटमा कार्यरत नायब सुब्बा निर्मल तिमिल्सिनालाई १ लाख रुपैयाँ घुस रकमसहित रंगेहात नियन्त्रणमा लिएको छ।

सर्लाहीको लालबन्दी घर भएका नायब सुब्बा तिमिल्सिनाले ईश्वरपुर नगरपालिका वडा नं. ६, बयलबासस्थित जग्गाको मोही नामसारी तथा मोही बाँडफाँटसम्बन्धी काम मिलाइदिने बाहानामा सेवाग्राहीसँग घुस मागेको खुलेको छ।

सेवाग्राहीसँग मोहीसम्बन्धी कामको लागि अतिरिक्त रकम (घुस) माग गरिरहेको भन्ने विशेष सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासबाट खटिएको टोलीले उनलाई कार्यालयबाटै उक्त रकम लिँदै गर्दा नियन्त्रणमा लिएको हो।

पक्राउ परेका तिमिल्सिनाउपर भ्रष्टाचार निवारण ऐनअनुसार थप अनुसन्धान तथा कारवाही प्रक्रिया अगाडि बढाइएको अख्तियारले जनाएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस