२०८३ जेष्ठ १७ गते, आईतवार ११:११

सामाजिक सञ्जालकी चर्चित चेहरा तुल्सा अब प्रहरी हिरासतमा

काठमाडौं –

सामाजिक सञ्जालमा चर्चित बनेकी टिकटकर तुल्सा अधिकारी अन्ततः प्रहरीको फन्दामा परेकी छन्। नेपालबाट फरार भएपछि उनको खोजी देशभित्र मात्र सीमित रहेन, अन्तर्राष्ट्रिय स्तरसम्म फैलियो। महिनौंको खोजीपछि थाइल्याण्डमा पक्राउ परेकी अधिकारीलाई नेपाल ल्याएर हिरासतमा राखिएको छ।

ललितपुर प्रहरीले आइतबार अधिकारीलाई नेपाल ल्याइएको पुष्टि गरेको छ। हाल उनी प्रहरी हिरासतमा रहेकी छन् र उनीमाथि ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी गम्भीर आरोपमाथि अनुसन्धान अगाडि बढाइएको छ।

प्रहरी स्रोतका अनुसार अधिकारीविरुद्ध ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ बराबरको ठगी र सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भइसकेको थियो। अनुसन्धानको घेरा कसिँदै गएपछि उनी नेपाल छाडेर विदेश पुगेको खुलेको थियो। त्यसपछि उनको खोजीका लागि अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मार्फत रेड नोटिससमेत जारी गरिएको थियो।

घटनाको सुरुवात गत साउनमा भएको थियो। सातदोबाटोस्थित ‘हाम्रो अटोमोबाइल्स’ का सञ्चालक कुमार चिमोरियाले अधिकारीविरुद्ध ठगी तथा आपराधिक विश्वासघातको आरोप लगाउँदै प्रहरी वृत्त सातदोबाटोमा जाहेरी दिएका थिए। उजुरी परेपछि प्रहरीले अनुसन्धान अघि बढायो।

अनुसन्धानका क्रममा अधिकारीसँग सम्बन्धित बैंक खाताहरूको कारोबार विवरण खोतल्दा करोडौं रुपैयाँको अस्वाभाविक आर्थिक गतिविधि देखिएको प्रहरीको दाबी छ। त्यसपछि ठगीको अनुसन्धानसँगै सम्पत्ति शुद्धीकरणको पाटो पनि जोडिएको थियो।

तर अनुसन्धान अघि बढ्दै जाँदा अधिकारी सम्पर्कविहीन भइन्। प्रहरीको निगरानीबाट बाहिरिएपछि उनी कहाँ गइन् भन्ने प्रश्नले रहस्यको रूप लिएको थियो। अन्ततः उनी थाइल्याण्डमा रहेको सूचना पाएपछि अन्तर्राष्ट्रिय समन्वयमार्फत पक्राउ गरी नेपाल ल्याइएको हो।

अब प्रहरीको ध्यान एउटै प्रश्नमा केन्द्रित छ । करोडौं रुपैयाँको कारोबारको वास्तविक स्रोत के थियो र त्यसमा अन्य कसैको पनि संलग्नता थियो कि थिएन?

टिकटकबाट चर्चा कमाएकी अधिकारीको यो प्रकरणले सामाजिक सञ्जालको चमकधमक पछाडि लुकेका आर्थिक गतिविधिबारे समेत नयाँ बहस सुरु गराएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस