वीरगन्ज –
बारा र पर्सालगायत मधेश प्रदेशका जिल्लामा पछिल्ला दिनहरूमा तीव्र रूपमा बढ्दै गएको ध्वनि प्रदूषण नियन्त्रण गर्न मधेश प्रदेश सरकारले कडा कदम चाल्ने निर्णय गरेको छ ।
गृह, सञ्चार तथा कानुन मन्त्रालयको नेतृत्वमा बसेको सरोकारवाला निकायहरूको बैठकले विशेषगरी सार्वजनिक स्थलमा अत्यधिक आवाज निकाल्ने डिजे प्रणाली तथा अन्य ध्वनि उपकरणको अनियन्त्रित प्रयोगले जनजीवन प्रभावित भएको निष्कर्ष निकाल्दै तत्काल नियन्त्रण अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।
बैठकले बारा, पर्सासहित प्रदेशका आठवटै जिल्लामा स्थानीय तह र सुरक्षा निकायसँग समन्वय गरी ध्वनि प्रदूषण अनुगमन तथा नियन्त्रणलाई तीव्र बनाउने निर्णय गरेको छ । अबदेखि अनुमति बिना वा तोकिएको ध्वनि सीमा नाघ्ने गरी प्रयोग गरिने डिजे तथा साउन्ड सिस्टममाथि कडाइका साथ निगरानी गरिने जनाइएको छ ।
मधेश प्रदेशका गृहमन्त्री फकिरा महतोले यस विषयमा प्रहरी प्रशासनलाई आवश्यक निर्देशन दिइसकिएको जानकारी दिँदै नागरिकको स्वास्थ्य, शान्ति र सार्वजनिक अनुशासनका लागि अभियान प्रभावकारी रूपमा अघि बढाइने बताएका छन् ।
बैठकले ध्वनि प्रदूषण नियन्त्रणसँगै मधेश भवनको सुरक्षा व्यवस्थापन, कर्मचारी आवास क्षेत्रको व्यवस्थित उपयोग, गुठी जग्गा संरक्षण, फुटपाथ अतिक्रमण नियन्त्रण तथा जनकपुरधाम परिक्रमा क्षेत्रभित्र मदिरा बिक्री-वितरण नियन्त्रणजस्ता विषयमा समेत निर्णय गरेको छ ।
मधेश भवन परिसरको सुरक्षा सुदृढ गर्न १५ दिनभित्र विस्तृत सुरक्षा मानक सञ्चालन कार्यविधि (SOP) तयार गर्ने समिति गठन गरिने भएको छ । साथै, परिसरको दैनिक सरसफाइको जिम्मेवारी ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयलाई दिइने र नियमित अनुगमन प्रणाली लागू गरिने निर्णय गरिएको छ ।
त्यसैगरी, कर्मचारी आवास क्षेत्रमा बसोबास गरिरहेका अनधिकृत व्यक्तिको पहिचान गरी कानुनी प्रक्रिया पूरा गर्दै तोकिएको समयसीमाभित्र खाली गराउने निर्णय पनि बैठकले गरेको छ । उक्त कार्यको समन्वय गृह मन्त्रालयअन्तर्गतको जिन्सी शाखा प्रमुखले सुरक्षा निकायसँग मिलेर गर्नेछन् ।
गुठी जग्गाको अभिलेख अद्यावधिक गर्ने, अतिक्रमण भएका जग्गामा कानुनी कारबाही अघि बढाउने तथा दीर्घकालीन संरक्षणका लागि कार्ययोजना तयार गर्न गुठी संस्थान शाखा कार्यालय जनकपुरलाई निर्देशन दिइएको छ । साथै, फुटपाथ तथा सार्वजनिक स्थानमा रहेका अनधिकृत संरचना हटाउन आवश्यक परे सुरक्षा निकाय परिचालन गरिने समेत बैठकले स्पष्ट पारेको छ ।












