वीरगन्ज-
वीरगन्ज महानगरपालिकाका नगर प्रमुख (मेयर) राजेशमान सिंहका स्वकीय सचिव सत्यराज घिमिरेलाई पर्सा प्रहरीले जिल्ला अदालत अगाडिबाट सोधपुछका लागि जिल्ला प्रहरी कार्यालयमा लगेको छ।
वीरगन्ज महानगरपालिका–१४ राधेमाईस्थित जिल्ला अदालत अगाडि रहेका घिमिरेलाई फरार रहेका नगर प्रमुख सिंहसँग सम्बन्धित केही विषयमा जानकारी लिनका लागि प्रहरी कार्यालयमा ल्याइएको हो।
लेखत सम्बन्धी कसुर मुद्दामा पक्राउ पुर्जी जारी भएपछि एक सातादेखि फरार रहेका नगर प्रमुख सिंहका सम्बन्धमा केही कुरा बुझ्न आवश्यक भएकाले उनका स्वकीय सचिव घिमिरेलाई कार्यालयमा बोलाइएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) हरिबहादुर बस्नेतले जानकारी दिनुभयो।
उहाँका अनुसार मेयरका स्वकीय सचिव घिमिरे अदालत अगाडिको सडकमा रहेको सूचना पाएपछि वडा प्रहरी कार्यालय श्रीपुरका सुरक्षाकर्मीलाई परिचालन गरी उनलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइएको हो।
डीएसपी बस्नेतले घिमिरेलाई पक्राउ नगरिएको र उनी प्रहरी नियन्त्रणमा नरहेको स्पष्ट पार्नुभयो। उहाँका अनुसार फरार प्रतिवादीसँग सम्बन्धित विषयमा आवश्यक सोधपुछका लागि मात्र उनलाई कार्यालयमा राखिएको हो।
प्रहरीका अनुसार बिहान १०ः३० बजे पर्सा जिल्ला अदालत अगाडिबाट ल्याइएका घिमिरे अपराह्न २ः३० बजेसम्म जिल्ला प्रहरी कार्यालयमै रहेका थिए।
गत वैशाख १२ गते पर्सा जिल्ला अदालतले मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी गर्दै ३५ दिनभित्र अदालतमा उपस्थित गराउन प्रहरीलाई आदेश दिएको थियो।
अरू व्यक्तिकी छोरीलाई आफ्नै छोरी भएको भनी झुटा प्रमाणका आधारमा नागरिकता र राहदानी (पासपोर्ट) बनाएको आरोपमा अनुसन्धानका लागि अदालतले मेयर सिंहसहित चार जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।
पक्राउ पुर्जी जारी भएको भोलिपल्ट अर्थात् वैशाख १३ गते अदालत परिसरमा उपस्थित भएको दाबी गर्दै मेयर सिंहले सामाजिक सञ्जालमार्फत आफ्नो तस्बिर तथा भिडियो सार्वजनिक गरेका थिए। उनले न्यायिक प्रक्रियामा सहयोग गर्न अदालत पुगेको बताएका थिए।
त्यसपछि अदालतमा मुद्दाको चापका कारण अर्को दिन उपस्थित हुन कर्मचारीहरूले सुझाव दिएको दाबीसमेत उनले सार्वजनिक गरेका थिए। तर पर्सा जिल्ला अदालतका श्रेस्तेदार प्रभाकर मल्लिकले विभिन्न सञ्चारमाध्यमसँग कुरा गर्दै मेयर सिंह अदालतमा उपस्थित नभएको र उनीसँग कुनै भेटघाट नभएको स्पष्ट पार्नुभएको थियो।
प्रहरी स्रोतका अनुसार मेयर सिंह हालसम्म फरार अवस्थामै रहेका छन् र उनको खोजी नेपालसँगै सीमावर्ती भारतीय सहरहरूमा समेत भइरहेको छ। यद्यपि, अहिलेसम्म उनलाई पक्राउ गर्न नसकिएको छ।
सामान्य मुद्दाका प्रतिवादीलाई छोटो समयमै पक्राउ गरी अदालतमा उपस्थित गराउने प्रहरीले राजनीतिक तथा आर्थिक पहुँच भएका व्यक्तिमाथिको कारबाहीमा ढिलाइ गरिरहेको हो कि भन्ने प्रश्न स्थानीय स्तरमा उठ्न थालेको छ। मेयर सिंहलाई हालसम्म पक्राउ गर्न नसक्नुको कारणबारे आम नागरिकबीच पनि विभिन्न टिकाटिप्पणी र चासो देखिएको छ।












