वीरगन्ज-
बारा, पर्सा, रौतहट, सर्लाही लगायत भारतसँग खुला सीमा जोडिएका जिल्लाका हजारौं बासिन्दाका लागि राहत हुने गरी सरकारले स्थल सीमा नाकाबाट ल्याउन तथा लैजान पाइने सामानको भन्सार छुट सीमा बढाएको छ।
अर्थ मन्त्रालयले यात्रुले आफ्नो साथमा ल्याउने तथा लैजाने वस्तुसम्बन्धी नयाँ व्यवस्था सार्वजनिक गर्दै यसअघि १ सय रुपैयाँसम्म मात्र रहेको छुट सीमा बढाएर ५ सय रुपैयाँ पुर्याएको हो। यस निर्णयबाट दैनिक रूपमा भारत–नेपाल ओहोरदोहोर गर्ने सीमावर्ती क्षेत्रका नागरिक प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ।
यसअघि सरकारले १ सय रुपैयाँभन्दा बढी मूल्यका सामानमा भन्सार लाग्ने व्यवस्था लागू गर्न खोज्दा वीरगन्ज, रक्सौल, कलैया, गौर, मलंगवा लगायत सीमा क्षेत्रका बासिन्दा र व्यापारीहरूबाट व्यापक असन्तुष्टि व्यक्त भएको थियो। कतिपय नाकामा विरोधसमेत भएको थियो।
नयाँ व्यवस्था अनुसार ५ सय रुपैयाँसम्मका निजी प्रयोगका सामान साथमा ल्याउँदा वा लैजाँदा भन्सार कार्यालय प्रमुखले औचित्यका आधारमा महसुल नलिई छाड्न सक्नेछन्। यसले दैनिक उपभोगका साना सामान किनमेलका लागि भारतीय बजार जाने सीमावर्ती नागरिकलाई सहजता प्रदान गर्नेछ।
यद्यपि, स्थलमार्ग प्रयोग गर्ने यात्रुले हवाईमार्गका यात्रुसरहको भन्सार सुविधा भने पाउने छैनन्। भारतमा अध्ययनरत नेपाली विद्यार्थीका हकमा भने आफ्नो साथमा ल्याएको ट्याबलेट वा कम्प्युटरमध्ये एक थानमा भन्सार नलाग्ने व्यवस्था यथावत् राखिएको छ।
गत १५ जेठमा प्रकाशित सूचनामार्फत १ सय रुपैयाँभन्दा बढीका सामानमा कडाइ गर्ने व्यवस्था ल्याइएपछि सीमा क्षेत्रमा व्यापक विवाद उत्पन्न भएको थियो। यो विषय संसद्मा समेत उठेको थियो। त्यसक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले छुट सीमा पुनरावलोकन गरिने बताएका थिए।
सीमावर्ती क्षेत्रका नागरिक, साना व्यापारी तथा व्यवसायीहरूले सरकारको नयाँ निर्णयलाई स्वागत गरेका छन्। उनीहरूका अनुसार यसले दैनिक किनमेल, पारिवारिक आवश्यकताका सामान खरिद तथा सीमा क्षेत्रमा हुने सामान्य आवतजावतलाई सहज बनाउनेछ।













