वीरगन्ज-
विश्व वातावरण दिवस २०८३ को अवसरमा प्रकृति सेवा प्रतिष्ठान, नेपालले जीवन ज्योति स्कुलको सहकार्यमा सप्ताहव्यापी कार्यक्रमअन्तर्गत चौथो दिन बुधबार साइकल र्यालीसहित जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ।
पर्यावरण तथा प्राकृतिक सम्पदाको संरक्षणलाई केन्द्रमा राख्दै आयोजित उक्त कार्यक्रमको उद्देश्य हरियाली संरक्षण, प्रदूषण न्यूनीकरण र स्वच्छ वातावरणप्रति जनचेतना अभिवृद्धि गर्नु रहेको आयोजकले जनाएको छ।
कार्यक्रम प्रकृति सेवा प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष सरदार जसपाल सिंहको नेतृत्वमा सम्पन्न भएको थियो। कार्यक्रममा जिल्ला ट्राफिक कार्यालय प्रमुख प्रनि युवराज कटुवाल, जीवन ज्योति स्कुलका प्रधानाध्यापक शिव गुप्ता, समाजसेवी भगवान श्रेष्ठ, वीरगन्ज कपडा बैंकका अध्यक्ष तथा सञ्चारकर्मी लालबाबु सिंह, युवा अभियन्ता दिलीप कार्की, प्रतिष्ठानका सहसचिव अभिनाश झा, सदस्यहरू भोला प्रसाद, रूपनारायण सिंह, केदार गुप्ता, सञ्चारकर्मी आकाश पटेल, रानीघाट प्रहरी पोस्टका सुरक्षाकर्मीहरू तथा विद्यालयका शिक्षकहरू र कक्षा ९ र १० का करिब ५० विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो।
साइकल र्याली वीरगन्ज-९ रानीघाटस्थित जीवन ज्योति स्कुलबाट सुरु भई घण्टाघर, बसपार्क, बाइपास रोड, नगवा, रेशमकोठी, मेनरोड, कैलाश होटल चौक, घडिअर्वा पोखरी, माइस्थान हुँदै पुनः घण्टाघर भएर विद्यालयमा पुगेर समापन गरिएको थियो।
कार्यक्रमको उद्घाटन प्रधानाध्यापक शिव गुप्ताले हरियो झण्डा देखाएर गरेका थिए।
उक्त अवसरमा प्रनि युवराज कटुवालले वातावरणले मानव जीवनका लागि आवश्यक हावा, पानी, अन्न, फलफूल, वनस्पति तथा जडीबुटी जस्ता आधारभूत स्रोतहरू प्रदान गर्ने भएकाले यसको संरक्षण, सम्मान र संवर्द्धन सबैको साझा दायित्व भएको बताए। उनले ट्राफिक नियम पालना गर्न आग्रह गर्दै विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको शुभकामना समेत व्यक्त गरे।
त्यसैगरी प्रतिष्ठानका अध्यक्ष जसपाल सिंहले “हरियो, सफा र स्वस्थ वीरगन्ज”, “प्लास्टिक झोलामुक्त तथा प्रदूषणमुक्त समाज” र “धरती बचाऔं, वातावरण जोगाऔं” भन्ने मूल नारासहित प्रतिष्ठानले विगत तीन दिनदेखि सरसफाइ तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए।
उनले वातावरण संरक्षणप्रति जिम्मेवारीबोध बढाउन विभिन्न स्थानमा सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको उल्लेख गर्दै सहभागी विद्यार्थी, शिक्षक, पदाधिकारी तथा सहयोगी सबैप्रति आभार व्यक्त गरे।












