विशेष अदालतद्वारा ३८ लाख ५० हजार जरिवाना र क्षतिपूर्तिको सजाय निर्धारण
काठमाडौँ–
मधेस प्रदेश सभाका सदस्य एवं पूर्वराज्यमन्त्री सरोजकुमार सिंहलाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा चार वर्ष एक महिना कैद सजाय सुनाएको छ। गत जेठ ४ गते दोषी ठहर भएका सिंहको सजाय निर्धारणका लागि मंगलबार तोकिएको पेसीपछि अदालतले कैदसँगै जरिवानाको फैसला सुनाएको हो।
विशेष अदालतका न्यायाधीशहरू सुदर्शनदेव भट्ट, उमेश कोइराला र विदुर कोइरालाको संयुक्त इजलासले सांसद सिंहलाई चार वर्ष एक महिना कैद र ३८ लाख ५० हजार १३९ रुपैयाँ जरिवाना हुने फैसला गरेको छ। यसका साथै, पीडित पक्षलाई एक लाख ५४ हजार पाँच रुपैयाँ क्षतिपूर्ति बापत असुलउपर गराउने निर्णय समेत इजलासले गरेको छ।
संसदीय कोषको रकम दुरुपयोग
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाट निर्वाचित (साविक जनता समाजवादी पार्टी नेपालका) सांसद सिंहमाथि निर्वाचन क्षेत्र विकास कोषको रकम हिनामिना गरेको अभियोग थियो। उनले संसद् विकास कोषको विकास आयोजनामा उपभोक्ता समितिलाई प्रभावमा पारी ३८ लाख ५० हजार ३३९ रुपैयाँ भ्रष्टाचार गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानबाट पुष्टि भएको थियो।
सांसद सिंहले उक्त आयोजनाको रकम आफ्ना स्वकीय सचिव विनोदकुमार लाल कायस्थमार्फत चेकबाट भुक्तानी लिन लगाई आफ्नो र श्रीमतीको नाममा रहेका विभिन्न बैंक खातामा जम्मा गर्न लगाएको अख्तियारको अभियोग पत्रमा उल्लेख थियो।
१६ जनाविरुद्ध दर्ता भएको थियो मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थलगत अनुसन्धान र बैंक खाताको विवरणका आधारमा तथ्य फेला पारेपछि गत २०८२ असोज ३० गते सांसद सिंहसहित १६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको थियो। सोही मुद्दामाथि निरन्तर सुनुवाइ गर्दै विशेष अदालतले गत जेठ ४ गते उनलाई दोषी ठहर गरेको थियो भने मंगलबार कानुन बमोजिम सजायको अवधि र जरिवानाको अंक निर्धारण गरेको हो।
अदालतको यो फैसलासँगै बहालवाला सांसद सिंहको पद कानुनी रूपमा निलम्बनमा पर्नेछ।











