काठमाडौँ –
राजस्व चुहावट र बजेट वक्तव्य सार्वजनिक हुनुअघि नै करसम्बन्धी सूचना लिक भएको आशंकाबीच नेपाल–चीन सीमा नाका कोरला हुँदै भित्रिएका ७५० विद्युतीय सवारीसाधन सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन्।
सशस्त्र प्रहरी बलका अनुसार मुस्ताङदेखि कास्की क्षेत्रसम्म विभिन्न स्थानमा ती गाडीहरू ओसारपसार भइरहेको सूचनाका आधारमा नेपाल प्रहरीसँगको समन्वयमा नियन्त्रणमा लिइएको हो। बरामद गरिएका सबै सवारीसाधन नम्बर प्लेटविहीन अवस्थामा रहेको जनाइएको छ।
सुरक्षास्रोतका अनुसार बजेट वक्तव्य सार्वजनिक हुनुअघि नै कर दर हेरफेरसम्बन्धी संवेदनशील सूचना बाहिरिएको र त्यसको फाइदा उठाउँदै ठूलो संख्यामा विद्युतीय गाडी नेपाल भित्र्याइएको आशंका गरिएको छ। यस घटनाले सम्भावित राजस्व चुहावटबारे गम्भीर प्रश्न उठाएको छ।
कास्की, पर्वतलगायतका जिल्लामा लैजाने क्रममा ती गाडीहरू नियन्त्रणमा लिइएको हो। सशस्त्र प्रहरीका एक उच्च अधिकृतका अनुसार बरामद गाडीहरूमा ‘बिवाइडी’ लगायतका ब्रान्डका विद्युतीय सवारीसाधन रहेका छन्।
“कागजातहरू भन्सारसँगको समन्वयमा जाँच गर्छौं। त्रुटि नभए फिर्ता गर्छौं, त्रुटि देखिए कानुनअनुसार कारबाही हुन्छ,” ती अधिकृतले बताए।
हाल ती सबै सवारीसाधन सुरक्षित रूपमा राखिएको र सम्बन्धित निकायसँग समन्वय गरी थप अनुसन्धान अघि बढाइएको छ। घटनाले भन्सार प्रणाली, सूचना गोपनीयता र राजस्व सुरक्षा संयन्त्रमाथि प्रश्न उठाएको छ।












