काठमाडौं –
सामाजिक सञ्जालमा परिचित टिकटकर तुल्सा अधिकारीलाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत ललितपुरले आदेश दिएको छ। ललितपुर जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको इजलासले उनलाई थुनामा पठाउने निर्णय गरेको हो।
इन्टरपोलको सहयोगमा १७ जेठमा थाइल्यान्डबाट पक्राउ परेकी तुल्सालाई नेपाल ल्याएर अदालतमा पेस गरिएको थियो। उनीविरुद्ध आपराधिक विश्वासघात, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी गम्भीर अभियोगहरू दायर भएका छन्।
अनुसन्धान अनुसार उनी पछिल्लो समय चीनमा बस्दै आएको खुलेको छ। प्रहरीले अनुसन्धान अघि बढाएपछि उनले सामाजिक सञ्जालमार्फत प्रहरीप्रति असन्तुष्टि जनाउँदै विभिन्न आरोपसमेत लगाएकी थिइन्।
तुल्साले सामाजिक सञ्जालमै लेख्दै आफू भदौ १९ गतेसम्म नेपालमै रहेको र त्यसपछि मात्रै चीन पुगेको दाबी गरेकी थिइन्। पक्राउ पुर्जी जारी भएपछि मात्र आफूलाई जानकारी भएको र आफ्ना नजिकका व्यक्तिहरूले समेत प्रहरीबाट विवरण नपाएको उनको भनाइ थियो।
तर, प्रहरीले भने उनका दाबीलाई ‘भ्रमपूर्ण’ भन्दै खण्डन गरेको थियो। यसबारे औपचारिक विज्ञप्ति जारी गर्दै अनुसन्धान प्रक्रिया कानुनअनुसार नै अघि बढेको स्पष्ट पारेको थियो।
यस प्रकरणको सुरुवात २२ साउन २०८२ मा प्रहरी वृत्त सातदोबाटोमा कुमार चिमोरियाले दिएको जाहेरीबाट भएको हो। सो जाहेरीमा ठगी तथा आपराधिक विश्वासघातको आरोप लगाइएको थियो।
अनुसन्धानको क्रममा उनीमाथि सम्पत्ति शुद्धीकरणको पक्षसमेत जोडिएपछि थप गम्भीर बनेको थियो। पछि सम्पत्ति शुद्धीकरण विभागको सुझावअनुसार समेत अनुसन्धान विस्तार गरिएको थियो।
अन्ततः ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ बराबरको ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगसहित मुद्दा दायर भएपछि अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।











