२०८३ जेष्ठ २२ गते, शुक्रबार १६:४५

राष्ट्र बैंकले ७० अर्ब रुपैयाँ बजारबाट तान्दै

काठमाडौं

नेपाली अर्थतन्त्रमा अझै अपेक्षित चलायमानता आउन नसकेको र बैंकिङ प्रणालीमा अधिक तरलता कायम रहेकाले नेपाल राष्ट्र बैंकले शुक्रबार ७० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ।

पछिल्लो समय उद्योग, व्यापार तथा निर्माण क्षेत्रको गतिविधि सुस्त रहँदा कर्जाको माग कमजोर बनेको छ। यसको प्रत्यक्ष प्रभाव बैंकिङ क्षेत्रमा देखिएको छ, जहाँ ठूलो परिमाणमा रकम निष्क्रिय रूपमा थुप्रिएको छ। यही अतिरिक्त तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले ७७ दिन अवधिको निक्षेप संकलन उपकरणमार्फत ७० अर्ब रुपैयाँ बजारबाट अवशोषण गर्न लागेको हो।

राष्ट्र बैंकले जारी गरेको सूचनाअनुसार बैंक तथा वित्तीय संस्थाहरूले शुक्रबार दिउँसो ३ बजेसम्म बोलकबोल प्रक्रियामार्फत आवेदन दिन सक्नेछन्। सहभागी संस्थाहरूले आफूले निक्षेप गर्न चाहेको रकम र प्रस्तावित ब्याजदर उल्लेख गर्नुपर्नेछ। प्राप्त प्रस्तावमध्ये न्यूनतम ब्याजदरका आधारमा राष्ट्र बैंकले रकम छनोट गर्नेछ।

यस कार्यक्रममा न्यूनतम १० करोड रुपैयाँदेखि आवेदन दिन सकिने व्यवस्था गरिएको छ। साथै, कुल माग गरिएको रकमको सीमाभित्र रही पाँच करोड रुपैयाँले भाग जाने रकमका लागि बोलकबोल गर्न सकिनेछ।

केन्द्रीय बैंकका अनुसार संकलित निक्षेपको अवधि ७७ दिन रहनेछ र उक्त उपकरण २०८३ साल भदौ ५ गते परिपक्व हुनेछ।

अर्थतन्त्रमा लगानी विस्तार हुन नसकेको, निजी क्षेत्रको आत्मविश्वास पूर्ण रूपमा फर्किन नसकेको तथा बैंकहरूमा ऋण प्रवाह अपेक्षाकृत कम रहेको अवस्थाबीच राष्ट्र बैंकले निरन्तर रूपमा बजारबाट रकम तानेर तरलता व्यवस्थापन गरिरहेको छ। यसलाई अर्थतन्त्रमा देखिएको सुस्त गतिका संकेतका रूपमा पनि हेरिएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस