सिरहा–
माध्यमिक शिक्षा परीक्षा (SEE) र कक्षा १२ को परीक्षाका क्रममा विद्यार्थीहरूबाट जफत गरिएका मोबाइल र स्मार्ट घडी पानीमा डुबाएर नष्ट गरिएको घटनाप्रति आपत्ति जनाउँदै सिरहामा विद्यार्थी संगठनहरूले आन्दोलनको घोषणा गरेका छन्।
‘संयुक्त विद्यार्थी संगठन’ ले एक सार्वजनिक सूचना जारी गर्दै उक्त घटनाविरुद्ध भोलि सोमबार दिउँसो १२ बजे जिल्ला प्रशासन कार्यालय सिरहा अगाडि विरोध प्रदर्शन गर्ने घोषणा गरेको हो।
मुख्य माग: क्षतिपूर्ति र छानबिन
विद्यार्थी संगठनहरूको प्रदर्शनको मुख्य उद्देश्य पानीमा डुबाएर नष्ट गरिएका महँगा मोबाइल तथा घडीको उचित क्षतिपूर्ति माग गर्नु रहेको छ। आन्दोलनका लागि ‘विद्यार्थीलाई क्षतिपूर्ति दे सरकार’ भन्ने मुख्य नारा तय गरिएको छ।
यसका साथै, प्रहरीले मोबाइल पसल सञ्चालकहरूसँगको मिलेमतो र उनीहरूकै योजना (आइडिया) मा यस्तो कदम चालेको गम्भीर आरोप समेत लागेको छ। विद्यार्थी संगठनहरूले यस विषयमा तत्काल निष्पक्ष छानबिन हुनुपर्ने माग समेत अघि सारेका छन्।
के भएको थियो घटना?
केही समयअघि जिल्ला प्रशासन कार्यालय सिरहाको रोहवरमा परीक्षाका क्रममा परीक्षार्थीहरूबाट संकलन गरिएका करिब ५०० वटा मोबाइल र स्मार्ट घडी पानीमा डुबाएर नष्ट गरिएको थियो। नष्ट गरिएका सामग्रीहरूमा ७ वटा आइफोन (iPhone), ४ सय ८९ वटा एन्ड्रोइड फोन र ५ वटा स्मार्ट घडी रहेका थिए।












