काठमाडौं –
फिलिपिन्समा सोमबार बिहान ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भारतीय राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएस) का अनुसार भूकम्प नेपाली समयअनुसार बिहान करिब ५ः०७ बजे गएको हो । हालसम्म भूकम्पबाट भएको सम्भावित क्षति वा मानवीय हताहतीबारे कुनै आधिकारिक विवरण सार्वजनिक भएको छैन ।
एनसीएसले सामाजिक सञ्जाल एक्समार्फत दिएको जानकारीअनुसार भूकम्पको केन्द्रबिन्दु फिलिपिन्सको ५.६३५ डिग्री उत्तरी अक्षांश र १२५.१४७ डिग्री पूर्वी देशान्तरमा रहेको थियो । भूकम्प ९३ किलोमिटर गहिराइमा गएको बताइएको छ । पहिलो भूकम्प गएको करिब ११ मिनेटपछि सोही क्षेत्रमा ६.४ म्याग्निच्युडको अर्को भूकम्पीय धक्का महसुस गरिएको एनसीएसले जनाएको छ । दोस्रो भूकम्प ७९ किलोमिटर गहिराइमा गएको थियो भने यसको केन्द्रबिन्दु ५.६०५ डिग्री उत्तरी अक्षांश र १२५.४०८ डिग्री पूर्वी देशान्तरमा रहेको बताइएको छ ।
फिलिपिन्स प्रशान्त महासागरीय रिङ अफ फायर क्षेत्रमा पर्ने भएकाले त्यहाँ बारम्बार भूकम्पीय गतिविधि हुने गर्दछ । (एएनआई)












