२०८३ जेष्ठ २७ गते, बुधबार १०:०८

एक हजार पाँच सय रुपैयाँमै बिकिरहेका छन् सुरक्षाकर्मी

फोटो-एआई

वीरगन्ज

सिमाक्षेत्रमा खटिएका सुरक्षाकर्मीको मिलेमतोमा खुलेआम तस्करीको लाइन सञ्चालन भएको छ । वीरगन्जको मुख्य भन्सार नाका शंकराचार्यद्वार, सिर्सिया, अलौं, भकुवा र बाराको बलिरामपुरबाट तस्करहरूले सुरक्षाकर्मीहरूलाई नजराना बुझाई दैनिक करोडौं मूल्यका सामान नेपाल भित्र्याउने गरेका छन् ।

सिमाक्षेत्रमा खटिएका सशस्त्र प्रहरीलाई कारोबारीहरूले प्रति पोका १ हजार ५ सय रुपैयाँ बुझाएपछि भन्सार छलीका मालवस्तु सहजै नेपाल भित्र्याउने गरेका छन् ।

वीरगन्जको छपकैया र भुकुवा नाकाबाट वकिल आलम, बाजु मियाँ, भोला सोनार, रञ्जित साह, जितु र झुनझुनले मोटरसाइकल, साइकल तथा टेम्पोमा कपडा नेपाल भित्र्याउने गरेका छन् । सिमाक्षेत्रमै खटिने एक सुरक्षाकर्मीले दिएको जानकारीअनुसार भन्सार छली गरी भित्र्याइएका कपडा राति १० बजेदेखि बिहान ४ बजेसम्म भित्रिने गरेको छ ।

त्यसैगरी, वीरगन्ज भन्सार कार्यालयको पूर्वमा अवस्थित इस्लामपुर नाकाबाट केदार, मुन्ना, सेखावत र जयलालले कपडा नेपाल भित्र्याउने गरेका छन् भने उक्त नाकाबाट भैयारामले भैंसी, पाडो र अख्तरले खसीबोका नेपाल भित्र्याउने गरेका छन् । उक्त नाकामा खटिएका नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले कपडाबाट प्रति पोका १ हजार ५ सय रुपैयाँ लिने गरेका छन् भने भैंसी, पाडो तथा खसीबोकाका लागि कारोबारीहरूले सुरक्षानिकायका उच्च अधिकारीसँग महिनावारी तय गरी भित्र्याउने गरेको स्रोतले दाबी गरेको छ ।

तस्करहरूले रातिको समयमा वीरगन्जको खलवाटोला–सिर्सिया नाकाबाट कपडा, मेवा अर्थात् ड्राइफ्रुट, औषधि, मोटरपार्ट्स लगायतका सामान नजरानाकै भरमा भित्र्याउँदै आएका छन् ।

सिर्सिया नाकाबाट मन्जुर पटेलले कपडा तथा औषधि ओसार्ने गरेका छन् भने पशुपति यादवले ड्राइफ्रुट भित्र्याउने गरेको स्रोतले जनाएको छ । त्यसैगरी उक्त नाकाबाट विजयले कपडा र गाडीका मोटरपार्ट्स, विक्कले ड्राइफ्रुट र औषधि, राजुले कपडा, आकाश बर्नवालले ड्राइफ्रुट तथा हार्डवेयर, मुनिलाल यादवले ड्राइफ्रुट तथा हार्डवेयर र तारकेश्वर बर्नवालले रजनीगन्धा भित्र्याउने गरेका छन् ।

सिर्सिया नाकामा खटिएका सुरक्षाकर्मीहरूले कपडाको प्रति पोका १ हजार ५ सय रुपैयाँ नै बुझ्ने गरेका छन् भने औषधि, मोटरपार्ट्स, हार्डवेयर र रजनीगन्धा उच्च अधिकारीलाई महिनावारी बुझाएर भित्र्याउने गरिएको छ । सिर्सिया नाकाबाट रातिको समयमा भित्रिने तस्करीका सामान बीओपी सिर्सिया–छपकैयाका इन्चार्जको समन्वयमै वीरगन्जमा भित्रिने गरेको स्रोतले जनाएको छ ।

सिमाक्षेत्रमा तस्करीका सामान छाडेबापत संकलन गरिएको रकममध्ये प्रति पोकाबाट ५ सय रुपैयाँका दरले जिल्ला नेतृत्व, ५ सय रुपैयाँ क्षेत्रीय इन्चार्ज र ५ सय रुपैयाँ ड्युटीमा खटिएकाबीच भागबण्डा हुने गरेको स्रोतको भनाइ रहेको छ । सिमाक्षेत्रमा बढ्दै गएको तस्करीमा सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रमुख र सशस्त्र प्रहरी कार्यालयका प्रमुखको प्रत्यक्ष संलग्नता नदेखिए पनि उनीहरूको आशीर्वाद प्राप्त व्यक्तिमार्फत रकम बुझ्दै आएको स्रोतले दाबी गरेको छ ।

काम विशेषले राति १ बजेपछि सिमाक्षेत्रमा जाने जोकोहीले सहजै मोटरसाइकल, साइकल तथा टेम्पोमा तस्करीका सामान ओसार्दै गरेको देख्न सकिने छपकैयावासी बताउँछन् । सशस्त्र प्रहरी बलको आशीर्वाद पाएपछि अहिले रातभरि तस्करहरूको लामो लाइन नै सिमाक्षेत्रमा लाग्ने गरेको स्थानीयहरूको भनाइ रहेको छ ।

प्रतिक्रिया

गृहमन्त्री सुधन गुरुङको पहिलो निर्णय: दरबार हत्याकाण्डको फाइल खोलिने, जेनजी आन्दोलनको मुद्दा फिर्ता लिन अध्ययन गरिने

काठमाडौँ–नवनियुक्त गृहमन्त्री सुधन गुरुङले पदभार ग्रहण गरेलगत्तै मुलुकको इतिहासकै सबैभन्दा

गृहमन्त्री सुधन गुरुङको पहिलो निर्णय: दरबार हत्याकाण्डको फाइल खोलिने, जेनजी आन्दोलनको मुद्दा फिर्ता लिन अध्ययन गरिने

काठमाडौँ–नवनियुक्त गृहमन्त्री सुधन गुरुङले पदभार ग्रहण गरेलगत्तै मुलुकको इतिहासकै सबैभन्दा

पोडकास्ट सुन्नुहोस