विराटनगर।
नेपाल–भारत सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध तस्करीको जालो फैलिँदै गएको चिन्ताकाबीच मोरङको सीमावर्ती क्षेत्रबाट ठूलो परिमाणमा गाँजा बरामद भएको छ। खुला सीमाको दुरुपयोग गर्दै संगठित समूहहरूले लागूऔषध ओसारपसारलाई तीव्र बनाइरहेका बेला सशस्त्र प्रहरीले ९२२ किलो गाँजासहित एक पिकअप गाडी र मोटरसाइकल नियन्त्रणमा लिएको हो।
सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म सोराभाग, बीओपी नोचा र तारेगामाबाट खटिएको संयुक्त टोलीले बुधबार राति जहदा गाउँपालिका–७ अन्तर्गतको सीमावर्ती क्षेत्रमा विशेष निगरानीका क्रममा उक्त परिमाणको गाँजा बरामद गरेको जनाएको छ।
प्रहरीका अनुसार लक्ष्मनियाबाट तारेगामातर्फ जाँदै गरेको को १ ख ७०२२ नम्बरको पिकअप गाडीलाई बिआर ३८ जेड ७४५२ नम्बरको भारतीय मोटरसाइकलले स्कटिङ गरिरहेको अवस्थामा सुरक्षाकर्मीले शंका गरी पछ्याएका थिए। प्रहरी टोली नजिकिएपछि तस्करहरूले गाडी र मोटरसाइकल बाटोमै छाडेर फरार भएका थिए।
जाँचका क्रममा पिकअपभित्र धानको भुसका बोराले छोपेर राखिएको अवस्थामा २९ वटा पोकामा लुकाइएको ९२२ किलो गाँजा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ। बरामद गाँजाको परिमाणले सीमाक्षेत्र हुँदै ठूलो स्तरमा लागूऔषध कारोबार भइरहेको संकेत गरेको सुरक्षा अधिकारीहरूको भनाइ छ।
पछिल्ला वर्षहरूमा सीमावर्ती नाकाहरू हुँदै गाँजा, चरेस, ब्राउन सुगर लगायतका लागूऔषधको अवैध कारोबार बढ्दै गएको छ। नेपाल–भारत खुला सीमाको फाइदा उठाउँदै तस्कर समूहहरूले नयाँ–नयाँ मार्ग प्रयोग गर्न थालेपछि सुरक्षा निकायमाथि निगरानी थप प्रभावकारी बनाउन दबाब बढेको छ।
बरामद गरिएको गाँजा, पिकअप गाडी र मोटरसाइकल आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ। फरार तस्करहरूको खोजी कार्य जारी रहेको छ।











