२०८३ जेष्ठ २८ गते, बिहीबार १४:५८

व्यक्तिको कब्जामा रहेको रानीघाटको ७ कठ्ठा १५ धुर जग्गा सार्वजनिक कायम

वीरगन्ज-

वर्षौंदेखि व्यक्तिको कब्जामा रहेको वीरगन्ज रानीघाटस्थित ७ कठ्ठा १५ धुर जग्गालाई सार्वजनिक कायम गर्न अदालतले आदेश दिएको छ । वीरगन्ज महानगरपालिका–११ रानीघाटस्थित रामजानकी मठ परिसरमा रहेको कित्ता नम्बर ३७ को उक्त जग्गालाई सार्वजनिक कायम गर्न पर्सा जिल्ला अदालतले आदेश दिएको हो ।

पर्सा जिल्ला अदालतका न्यायाधीश माधव प्रसाद घिमिरेको एकल इजलासले उक्त जग्गा सार्वजनिक कायम हुने निर्णय गरेको हो ।

प्रदिप कुमार रौनियारले सो जग्गा आफ्नो भएको दाबी गर्दै दायर गरेका ५ वटा मुद्दामा वादीको दाबी नपुगेको भन्दै अदालतले खारेज गरेको छ । साथै, उक्त जग्गालाई सार्वजनिक कायम गर्न माग गर्दै दायर गरिएका ९ वटा मुद्दामा दाबी पुग्ने ठहर गर्दै अदालतले जग्गा तत्काल सार्वजनिक कायम गर्न आदेश दिएको अधिवक्ता दिनानाथ प्रसाद साहले जानकारी दिनुभयो ।

उहाँका अनुसार जग्गा खिचलो लगायत विभिन्न शीर्षकमा दायर भएका कुल १४ वटा मुद्दाको एकैसाथ सुनुवाइ गर्दै अदालतले उक्त निर्णय गरेको हो ।

प्रदिप कुमार रौनियारका तर्फबाट दायर मुद्दामा अधिवक्ता महमद नौसाद, पन्नालाल गुप्ता, जोगिन्द्र यादव र सन्तोष श्रीवास्तवले बहस गर्नुभएको थियो भने सार्वजनिक कायम गर्नुपर्ने पक्षका तर्फबाट अधिवक्ता दिनानाथ प्रसाद साहले बहस गर्नुभएको थियो ।

रामजानकी मठ परिसरभित्र रहेको उक्त जग्गासम्बन्धी मुद्दाको लिखित फैसला आउन करिब एक महिना लाग्ने स्रोतले जनाएको छ ।

फैसला सार्वजनिक भएपछि रौनियारले चाहेमा उच्च अदालत वीरगन्ज इजलासमा पुनरावेदन गर्न सक्ने कानुनी व्यवस्था रहने बताइएको छ ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस