वीरगन्ज–
वीरगन्जको पहिचान र ऐतिहासिकतासँग जोडिएका सार्वजनिक धरोहरहरू भूमाफिया र अतिक्रमणको चपेटामा परिरहेका बेला यसलाई जोगाउन जनस्तरबाटै एउटा ठूलो अभियानको सुरुवात हुने संकेत देखिएको छ। पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य (सांसद) एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता हरि पन्तले वीरगन्जका ऐतिहासिक सम्पदाहरू बचाउनका लागि बिहीबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत सम्पूर्ण नगरवासीसँग साथ र सहयोगको अपिल गर्नुभएको छ।
सांसद पन्तले वीरगन्जको मुटु मानिने टाउन हल (नगर सभागृह), स्विमिङ पुल र ऐतिहासिक घडिअर्वा पोखरीलाई वीरगन्जवासीले नै अग्रसर भएर बचाउनुपर्ने समय आइसकेको उल्लेख गर्नुभएको छ।
आफ्नो आधिकारिक फेसबुक पेजमा पोस्ट गर्दै सांसद पन्तले लेख्नुभएको छ:
“अब हामी वीरगन्जवासीले बचाउनै पर्ने हाम्रो ऐतिहासिक धरोहरहरू भनेको टाउन हल, स्विमिङ पुल र घडिअर्वा पोखरी हो। हजुरहरू मलाई साथ दिनुहुन्छ? यदि सम्पूर्ण वीरगन्जवासीहरूको साथ र सहयोग रह्यो भने हामी वीरगन्जवासीहरूको सम्पत्ति वीरगन्जवासीलाई नै फिर्ता गर्न सक्षम हुनेछौँ।”
सांसद पन्तको यो भनाइ सार्वजनिक भएसँगै वीरगन्जका सचेत नागरिक, बुद्धिजीवी र युवाहरूमाझ यसलाई एउटा ‘ऐतिहासिक प्रयास’ को रूपमा हेरिएको छ। वर्षौंदेखि राजनीतिक पहुँच र स्वार्थका कारण वीरगन्जका सार्वजनिक जग्गा र धरोहरहरू व्यक्ति वा व्यापारिक समूहको कब्जामा जाने खतरा बढिरहेका बेला जनप्रतिनिधि आफैँ अग्रसर भएर जनताको भावनालाई मुखरित गर्नुलाई सकारात्मक रूपमा लिइएको छ।
पछिल्लो समय वीरगन्जमा सार्वजनिक जग्गा, मठमन्दिरका सम्पत्ति र ऐतिहासिक संरचनाहरू जोगाउन कानुनी र सामाजिक संघर्ष भइरहेका बेला सांसद पन्तको यो आह्वानले भूमाफियाविरुद्धको लडाइँमा थप बल पुग्ने स्थानीयको विश्वास छ।
सांसद पन्तको पोस्टमा प्रतिक्रिया दिँदै वीरगन्जका आम नागरिकले यो अभियानमा दलीय स्वार्थभन्दा माथि उठेर पूर्ण साथ दिने प्रतिबद्धता जनाएका छन्। “टाउन हल र घडिअर्वा पोखरी वीरगन्जको गौरव हुन्, यिनलाई व्यापारीकरण हुन वा नास हुन दिनु हुँदैन,” एक स्थानीय युवाले भने।
सांसद पन्तले जनस्तरको सहयोग पाएमा वीरगन्जको गुमेको वा संकटमा परेको सम्पत्ति पुनः वीरगन्जवासीकै स्वामित्वमा फिर्ता ल्याउन आफू कानुनी र व्यावहारिक रूपमै लड्ने दृढता व्यक्त गरेपछि अहिले वीरगन्जमा यो विषय निकै चर्चामा रहेको छ।












