रामेछाप –
कुनैबेला सोलुखुम्बु प्रवेश गर्ने प्रमुख नाकाका रूपमा परिचित रामेछापको बाम्तीभण्डार बजार अहिले सुनसान बन्दै गएको छ । सडक सञ्जालको विस्तार र पर्यटकको यात्रा शैलीमा आएको परिवर्तनसँगै यहाँको व्यापार–व्यवसाय ठप्पजस्तै बनेको स्थानीयहरू बताउँछन् ।
दोलखाको जिरीबाट बात्ती हुँदै पैदल यात्रा गरेर सोलुखुम्बु पुग्ने रुट सञ्चालनमा रहेको समयमा बाम्तीभण्डार विदेशी पर्यटकले भरिभराउ हुन्थ्यो । जता हे¥यो त्यतै विदेशी पर्यटक देखिन्थे । होटेलहरू खचाखच भरिन्थे भने कोठा अभाव भएपछि कतिपय पर्यटकले बाहिरै टेन्ट गाडेर बस्ने गर्थे ।
तर अहिले अवस्था फेरिएको छ । सोलुखुम्बु जाने अधिकांश पर्यटक रामेछापको मन्थली विमानस्थलबाट जहाज चढेर जाने गरेका छन् । बसमार्फत यात्रा गर्नेहरू पनि सोझै सोलुखुम्बुको सदरमुकाम सल्लेरी पुग्न थालेपछि बात्ती हुँदै जाने पुरानो पदमार्ग सुनसान बनेको छ ।
स्थानीय होटेल व्यवसायी पासाङ तामाङका अनुसार पूर्वाधार विकासका हिसाबले बाम्तीभण्डार पहिलेभन्दा धेरै अगाडि बढेको भएपनि पर्यटन व्यवसाय भने खस्किएको छ । ‘पहिलाभन्दा विकास त धेरै भयो तर पर्यटनतर्फ हेर्ने हो भने निकै कमी आएको छ । अब सोलुसम्म सडक पुगेको छ । यस पटकको पर्यटन सिजन बाहिरी द्वन्द्वका कारण पनि प्रभावित भयो,’ तामाङले भने ।
उनका अनुसार गाउँगाउँमा सडक पुगेपछि उपभोग्य सामग्री पनि स्थानीय तहमै उपलब्ध हुन थालेको छ । विगतमा किनमेलका लागि बात्ती बजार आउने ग्रामीण उपभोक्ता अहिले आफ्नै गाउँमा आवश्यक सामान पाउन थालेपछि बजारको कारोबारसमेत घटेको छ । त्यसको प्रत्यक्ष असर होटेल, पसल तथा अन्य साना व्यवसायमा परेको छ ।
स्थानीयका अनुसार बाम्तीभण्डार बजारलाई पुनः चलायमान बनाउन पर्यटनसँगै शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्न आवश्यक छ । देउरालीदेखि बाम्तीभण्डारसम्मको सडक कालोपत्रे गर्न सके र बात्ती अस्पताललाई थप व्यवस्थित तथा सुविधा सम्पन्न बनाउन सके यस क्षेत्रको आकर्षण बढ्न सक्ने उनीहरूको विश्वास छ । ‘बाम्तीलाई शिक्षा र स्वास्थ्यको हबका रूपमा विकास गर्न सकियो भने आन्तरिक पर्यटक र सेवाग्राहीको आवागमन बढ्छ, जसले बजारलाई फेरि चलायमान बनाउन सक्छ,’ तामाङले बताए ।
एक समय खुम्बु क्षेत्रको प्रवेशद्वारका रूपमा परिचित बाम्तीभण्डार अहिले विकासको नयाँ मोडमा उभिएको छ । पूर्वाधार विस्तारले सुविधा त बढाएको छ, तर त्यसले पुरानो व्यापारिक र पर्यटन गतिविधिलाई विस्थापित गरेको यथार्थलाई पनि उजागर गरेको छ । अब बाम्तीको भविष्य कुन दिशामा मोडिने भन्ने प्रश्न स्थानीय सरकार, सरोकारवाला निकाय र समुदायको साझा प्रयासमा निर्भर रहने देखिन्छ ।












